१७ भाद्र २०८३, बुधबार

रुसी सदनले विदेशी भाषाका रूपमा रुसी भाषा पढाउने शिक्षक माग्यो

ड्रागन मिडिया समाचार कक्ष

काठमाडौंस्थित रुसी सदनले विदेशी भाषाका रूपमा रुसी भाषा अध्यापन गराउने शिक्षकका लागि आवेदन आह्वान गरेको छ।

रुसी सदनका अनुसार आवेदकले अधिमानतः भाषा–साहित्य, शिक्षा वा भाषाविज्ञान विषयमा उच्च शिक्षा हासिल गरेको हुनुपर्नेछ। विदेशी भाषाका रूपमा रुसी भाषा अध्यापनमा विशेषज्ञता भएकालाई प्राथमिकता दिइनेछ। सम्बन्धित विषयमा औपचारिक शिक्षा नभएका आवेदकले रुसी भाषा अध्यापन विधिसम्बन्धी व्यावसायिक पुनर्तालिम वा क्षमता विकास पाठ्यक्रम पूरा गरेको प्रमाणपत्र पेश गर्न सक्नेछन्।

उम्मेदवारसँग प्रारम्भिक तहदेखि रुसी भाषा पढाएको अनुभव अनिवार्य हुनुपर्ने जनाइएको छ। छनोट भएका शिक्षकले ए–० देखि ए–२ तहसम्मका विद्यार्थीलाई समूहगत तथा व्यक्तिगत कक्षा सञ्चालन गर्ने, विद्यार्थीको आवश्यकताअनुसार शिक्षण सामग्री तयार र अनुकूलन गर्ने तथा शैक्षिक अभिलेख र प्रतिवेदन व्यवस्थापन गर्ने जिम्मेवारी पाउनेछन्।

शिक्षकले रुसी सदनद्वारा आयोजना गरिने खुला कक्षा, व्याख्यान, चलचित्र प्रदर्शन, गोलमेच छलफल, साहित्यिक साँझ, प्रश्नोत्तरी तथा अन्य सांस्कृतिक र शैक्षिक कार्यक्रममा समेत सहभागिता जनाउनुपर्नेछ।

रुसी सदनले लचिलो कार्यतालिका र कक्षाको संख्या तथा विद्यार्थीको आधारमा सहमतिअनुसार पारिश्रमिक उपलब्ध गराइने जनाएको छ। शिक्षकलाई शिक्षण विधिसम्बन्धी सहयोग, पाठ्यसामग्री, शब्दकोष तथा रुसी इतिहास र संस्कृतिसम्बन्धी सामग्रीमा पहुँच प्रदान गरिनेछ।

छनोट भएका शिक्षकले सम्मेलन, गोष्ठी, शिक्षण विधिसम्बन्धी कार्यक्रम र क्षमता विकास तालिममा सहभागी हुने अवसरसमेत पाउनेछन्। अन्तर्राष्ट्रिय समूहमा काम गर्न तथा कूटनीतिक र सांस्कृतिक कार्यक्रममा सहभागी भई व्यावसायिक सम्पर्क विस्तार गर्न सकिने रुसी सदनले जनाएको छ।

इच्छुक व्यक्तिले काठमाडौंको कमलपोखरीस्थित रुसी सदनमा आवेदन दिन सक्नेछन्। थप जानकारीका लागि ०१–४५१६६५० मा सम्पर्क गर्न वा [nepal@rs.gov.ru](mailto:nepal@rs.gov.ru) मा इमेल पठाउन सकिनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button