१७ भाद्र २०८३, बुधबार

प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत हुँदै, तीन संसदीय समितिका बैठक पनि आजै

ड्रागन मिडिया सम्वाददाता

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा विभिन्न चार विधेयक प्रस्तुत गर्नुका साथै नेपाल विशेष सेवा ऐनसम्बन्धी संसदीय समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ। प्रतिनिधिसभाको यसअघिको बैठक आज शुक्रबार अपराह्न १ बजेसम्मका लागि स्थगित गरिएको थियो।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयकको समितिको प्रतिवेदन, २०८३’ सदनमा पेस गर्नुहुनेछ।

राज्य व्यवस्था तथा सुशासन समितिले उक्त विधेयकमाथिको दफावार छलफल पूरा गरी प्रतिवेदन तयार पारेको हो। विधेयकले नेपाल विशेष सेवा ऐन, २०४२ अन्तर्गतको साविकको कानुनी व्यवस्था पुनः कायम गर्ने विषय समेटेको छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नुहुने कार्यसूची छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ।

परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभएको छ।

तीन संसदीय समितिका बैठक

आजै प्रतिनिधिसभाअन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति तथा पूर्वाधार विकास समितिको बैठक बस्ने कार्यक्रम छ।

बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का प्रावधानबारे विषयविज्ञहरूसँग छलफल गरिनेछ। उक्त विधेयक पर्यटन क्षेत्रसँग सम्बन्धित प्रचलित कानुनलाई समयानुकूल संशोधन र एकीकरण गर्ने उद्देश्यले अघि बढाइएको हो।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकार अवस्थाबारे अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन, २०८३ पेस गरी छलफल गर्ने कार्यसूची छ।

त्यसैगरी बिहान १० बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् वितरण लाइन र विद्युत्का पोल समयमै व्यवस्थापन तथा स्थानान्तरण हुन नसक्दा सडक निर्माणमा भएको ढिलाइबारे छलफल गरिनेछ।

समितिले सडक निर्माण तथा विस्तारका क्रममा विद्युत् संरचना व्यवस्थापनमा देखिएको अन्तरनिकाय समन्वयको अभाव, काममा भइरहेको ढिलाइ र समाधानका सम्भावित उपायबारे सम्बन्धित निकायसँग जानकारी लिने कार्यक्रम छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button