१७ भाद्र २०८३, बुधबार

देशभर मनसुन सक्रिय, विभिन्न स्थानमा वर्षाको सम्भावना

ड्रागन मिडिया सम्वाददाता

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।

हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली भएको छ। मधेस प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ।

बागमती र कर्णाली प्रदेशका केही स्थानका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

तराईका केही स्थानमा समेत मध्यम वर्षा हुन सक्नेछ। वर्षा हुने स्थान र यसको तीव्रता भने भौगोलिक अवस्था तथा स्थानीय मौसम प्रणालीअनुसार फरक हुन सक्ने महाशाखाले जनाएको छ।

राति पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ।

हिमाली क्षेत्रका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।

महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, भूक्षय र गेग्रान बहाव तथा नदी–खोला आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रा वा बाहिरी गतिविधि गर्नुअघि मौसमको अद्यावधिक जानकारी लिन सुझाव दिइएको छ।

विभागले जारी गर्ने मौसम पूर्वानुमान, चेतावनी तथा बाढीसम्बन्धी सूचनामा नियमित रूपमा अद्यावधिक रहँदै स्थानीय प्रशासन र सम्बन्धित निकायका निर्देशन पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button