कोशीमा सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान चलाउन निर्देशन

ड्रागन मिडिया सम्वाददाता
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न मातहतका ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको बिहीबार निरीक्षण गर्दै खनालले दैनिक ट्राफिक जाँचलाई प्रभावकारी बनाउन तथा तीव्र गति, ओभरलोड, मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउनेविरुद्ध कडाइका साथ कारवाही गर्न निर्देशन दिएका हुन्।
उनले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनको निगरानी र कारवाहीका लागि राडर गन, सिसीटिभी तथा मापसे र लापसे परीक्षण कीटलगायत आधुनिक प्रविधिको सही र अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए।
सवारी दुर्घटना न्यूनीकरणका लागि लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनमा दुई जना चालक अनिवार्य रूपमा राखिएको छ वा छैन भन्ने विषयसमेत नियमित जाँच गर्न उनले निर्देशन दिए।
यसैगरी, यात्रुबाट तोकिएको भाडादरअनुसार रकम लिइएको छ वा छैन, आरक्षण सिटको व्यवस्था कार्यान्वयन गरिएको छ वा छैन तथा टाइमकार्डअनुसार सवारीसाधन सञ्चालन भइरहेको छ वा छैन भन्ने विषयमा पनि कडाइका साथ अनुगमन गर्नुपर्ने उनले बताए।
ट्राफिक जाँचका क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख वा हैरानी नदिन निर्देशन दिँदै खनालले प्रहरी कर्मचारीलाई सर्वसाधारणसँग शिष्ट, मर्यादित र व्यावसायिक व्यवहार गर्न आग्रह गरे।
निरीक्षणका क्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख दीपक गिरीले कोशी प्रदेशमा ट्राफिक जनशक्ति परिचालन, सेवाप्रवाह, सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत, मोरङ र सुनसरीमा ट्राफिक व्यवस्थापनमा खटिएका अधिकारी तथा ट्राफिक प्रहरी कर्मचारीको उपस्थिति थियो।





