नेपाल गुणस्तर परिषद्ले इथानोलसहित विभिन्न मापदण्ड स्वीकृत गर्यो

ड्रागन मिडिया सम्वाददाता
नेपाल गुणस्तर परिषद्को ११औँ बैठकले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय मापदण्डका विभिन्न मस्यौदामाथि छलफल गरी स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकले नेपाल गुणस्तर निर्धारण तथा पुनरावलोकनका लागि गठित प्राविधिक समितिबाट सिफारिस भएका विभिन्न गुणस्तरसम्बन्धी मापदण्डलाई अनुमोदन गरेको हो। बैठकमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागिता थियो।
परिषद्ले मोटर ग्यासोलिनमा ब्लेन्डिङ कम्पोनेन्टका रूपमा प्रयोग हुने इथानोलको स्पेसिफिकेसनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ। त्यस्तै, इलास्टोमेरिक ब्रिज बेयरिङसम्बन्धी मापदण्ड पनि अनुमोदन गरिएको छ।
बैठकले रबरको कठोरता परीक्षणसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय मापदण्डलाई समेत स्वीकृति दिएको छ। रबर तथा थर्मोप्लास्टिकको कम्प्रेसन सेट निर्धारणसम्बन्धी मापदण्ड पनि परिषद्बाट अनुमोदन भएको छ।
परिषद्का अनुसार गुणस्तरसम्बन्धी मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै अन्तर्राष्ट्रिय अभ्याससँग सामञ्जस्य कायम गर्ने उद्देश्यले पछिल्ला निर्णय गरिएको हो।
स्वीकृत मापदण्डले उद्योग तथा उत्पादन क्षेत्रको गुणस्तर अभिवृद्धि, परीक्षण प्रणालीको प्रभावकारिता तथा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
परिषद्ले गुणस्तर निर्धारण तथा पुनरावलोकन प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र संस्थागत बनाउने दिशामा समेत आवश्यक निर्णय गरेको जनाएको छ।





