१७ भाद्र २०८३, बुधबार

कक्षा १२ को मौका परीक्षामा ८१.१९ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरे

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ८१.१९ प्रतिशत परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।

परीक्षामा कुल ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अनुसार परीक्षासम्बन्धी नियम उल्लङ्घनलगायतका कारण तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ।

प्रकाशित नतिजामा कुनै प्राविधिक त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयमा रहेको मूल अभिलेखका आधारमा सच्याइने बोर्डले स्पष्ट गरेको छ।

परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्डले तोकेका आधिकारिक माध्यममार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्। बोर्डका अनुसार परीक्षाफल वेबसाइटका साथै एसएमएस र आइभीआर सेवामार्फत पनि उपलब्ध हुनेछ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते सञ्चालन गरेको थियो। नियमित परीक्षामा आवश्यक ग्रेड प्राप्त गर्न नसकेका योग्य विद्यार्थीलाई पुनः परीक्षा दिने अवसरस्वरूप मौका परीक्षा सञ्चालन गरिएको हो।

मौका परीक्षाको नतिजा प्रकाशनसँगै सबै विषयमा आवश्यक ग्रेड प्राप्त गरेका विद्यार्थीका लागि उच्च शिक्षा तथा आगामी शैक्षिक प्रक्रियामा सहभागी हुने बाटो खुलेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button