१७ भाद्र २०८३, बुधबार

ट्याङ्करबाट पेट्रोल चोरी गरी बिक्री गरेको आरोपमा सात जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा पेट्रोल चोरी गरी बिक्री–वितरण गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३ का ५५ वर्षीय सुनैन मियाँ, वडा नम्बर १५ का २३ वर्षीय असलम हवारी र वडा नम्बर ११ का २१ वर्षीय रफिक मियाँ रहेका छन्।

त्यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ का २० वर्षीय सन्देश राना मगर, वडा नम्बर १० का ४६ वर्षीय केशर राम सुनार, वडा नम्बर १४ का ५० वर्षीय मन्द सिंह लामा र २७ वर्षीय उमेश राना मगर पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूले पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा एकीकृत जाँच चौकी (आईसीपी) बाट जाँचपास गरी नेपाल प्रवेश गरेका पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करबाट अनधिकृत रूपमा तेल निकालेर बिक्री–वितरण गर्ने गरेका थिए।

बिहीबार साँझ करिब ५:१० बजे वीरगञ्ज–१४ बाइपास सडकस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button