१७ भाद्र २०८३, बुधबार

बालबालिकाको सुरक्षामा कमजोरी : मेटालाई थप ५६७ मिलियन डलर तिर्न अमेरिकी अदालतको आदेश

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकाको न्यू मेक्सिको राज्यको अदालतले फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटालाई बालबालिका तथा किशोर प्रयोगकर्ताको सुरक्षामा गम्भीर जोखिम सिर्जना गरेको ठहर गर्दै ५६७ मिलियन अमेरिकी डलरको विशेष कोष स्थापना गर्न आदेश दिएको छ।

शुक्रबारको विनिमय दरअनुसार उक्त रकम करिब ८६ अर्ब ५० करोड नेपाली रुपैयाँ बराबर हुन्छ।

सान्ता फेका मुख्य जिल्ला न्यायाधीश ब्रायन बिडशाइडले मेटाका प्लेटफर्मबाट बालबालिकाको हितमा परेको नकारात्मक प्रभावलाई न्यू मेक्सिको कानुनअन्तर्गत ‘सार्वजनिक उपद्रव’ ठहर गर्दै आर्थिक उपचारसँगै फेसबुक र इन्स्टाग्राममा व्यापक नीतिगत सुधार गर्न आदेश दिनुभएको हो।

यो फैसला मेटाविरुद्ध सन् २०२३ मा न्यू मेक्सिकोका महान्यायाधिवक्ता राउल टोरेजले दायर गरेको मुद्दाको दोस्रो चरणअन्तर्गत आएको हो। यसअघि मार्चमा भएको पहिलो चरणको सुनुवाइमा निर्णायक मण्डलले न्यू मेक्सिकोको अनुचित व्यापार अभ्याससम्बन्धी कानुन उल्लंघन गरेको ठहर गर्दै मेटामाथि ३७५ मिलियन डलरको नागरिक जरिवाना तोकेको थियो।

नयाँ ५६७ मिलियन डलरसहित मेटाको कुल आर्थिक दायित्व ९४२ मिलियन डलर पुगेको छ, जुन हालको विनिमय दरअनुसार करिब १ खर्ब ४३ अर्ब ७१ करोड नेपाली रुपैयाँ बराबर हुन्छ।

अदालतका अनुसार नयाँ कोषमध्ये ४२० मिलियन डलर सामाजिक सञ्जालको प्रयोगबाट प्रभावित युवा प्रयोगकर्ताका लागि उपचार तथा सम्बन्धित सेवामा खर्च गरिनेछ। बाँकी रकम आगामी पाँच वर्षमा सचेतना, रोकथाम, परीक्षण तथा मूल्याङ्कनसहितका कार्यक्रम सञ्चालनमा प्रयोग गरिनेछ।

अदालतले आर्थिक दायित्वसँगै मेटालाई न्यू मेक्सिकोमा १८ वर्षमुनिका प्रयोगकर्ताको सुरक्षाका लागि फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने तरिकामै महत्वपूर्ण परिवर्तन गर्न आदेश दिएको छ।

आदेशअनुसार १८ वर्षमुनिका प्रयोगकर्ताको फेसबुक र इन्स्टाग्राम प्रयोग समय संयुक्त रूपमा महिनामा अधिकतम ९० घण्टामा सीमित गर्नुपर्नेछ। त्यस्तै, राति १० बजेदेखि बिहान ७ बजेसम्म र विद्यालय सञ्चालन अवधिमा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म किशोर प्रयोगकर्तालाई ‘पुस नोटिफिकेसन’ पठाउन रोक लगाइएको छ। केही सीमित अपवाद भने लागू हुनेछन्।

१८ वर्षमुनिका प्रयोगकर्ताको ‘लाइक’ संख्या स्वतः नदेखिने व्यवस्था गर्नुपर्ने र अभिभावकको स्वीकृतिपछि मात्रै त्यस्तो सेटिङ परिवर्तन गर्न मिल्ने व्यवस्था गर्नसमेत अदालतले भनेको छ।

मेटाले नाबालिग प्रयोगकर्ताका खाता असम्बन्धित वयस्क प्रयोगकर्तालाई सिफारिस गर्न नपाउने तथा प्रत्यक्ष सम्बन्ध नभएका वयस्कलाई नाबालिग प्रयोगकर्तासँग सिधै सन्देशमार्फत सम्पर्क गर्न नदिने व्यवस्था गर्नुपर्नेछ।

इन्स्टाग्राममा १८ वर्षमुनिका प्रयोगकर्ताको खाता स्वतः निजी रहने व्यवस्था कायम राख्न र फेसबुकमा किशोर प्रयोगकर्ताका लागि मित्रसम्बन्धी पूर्वनिर्धारित सुरक्षा व्यवस्था थप कडा बनाउन आदेश दिइएको छ।

अदालतले उमेर पहिचान गर्ने प्रविधिलाई निरन्तर सुधार गर्न, १३ वर्षमुनिका भएको आशंका गरिएका केही खाताको उमेर पुष्टि गर्न र पुष्टि हुन नसकेका त्यस्ता खातामाथि आवश्यक कारवाही गर्न पनि मेटालाई निर्देशन दिएको छ।

यससँगै एआई च्याटबटमार्फत नाबालिग प्रयोगकर्तालाई अनुपयुक्त अन्तरक्रियाबाट जोगाउने सुरक्षा व्यवस्था तथा बालसुरक्षासम्बन्धी उजुरीको समीक्षा प्रणाली थप प्रभावकारी बनाउनुपर्नेछ।

यी सुधारसम्बन्धी आदेश पाँच वर्षसम्म लागू रहनेछ र मेटाले आफ्नो प्रगतिबारे नियमित रूपमा अदालत तथा न्यू मेक्सिको राज्यलाई प्रतिवेदन बुझाउनुपर्नेछ।

न्यायाधीश बिडशाइडले मेटाका प्लेटफर्मबाट सिर्जित असरलाई औद्योगिक प्रदूषणसँग तुलना गर्दै त्यसको प्रभाव प्लेटफर्ममै सीमित नरही बालबालिका, परिवार, विद्यालय, स्वास्थ्य संस्था तथा कानुन कार्यान्वयन निकायसम्म फैलिने सामाजिक समस्या बन्न सक्ने निष्कर्ष दिनुभएको छ।

यद्यपि अदालतले न्यू मेक्सिको राज्यले मागेका सबै उपाय स्वीकार गरेको छैन। विशेषगरी एल्गोरिदम, ‘इन्फिनिट स्क्रोल’ र ‘अटोप्ले’ जस्ता सुविधामाथि मागिएको केही नियन्त्रणले अमेरिकी संविधानको अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अधिकार तथा संघीय कानुनसँग समस्या सिर्जना गर्न सक्ने भन्दै अदालतले ती प्रस्ताव अस्वीकार गरेको छ।

अदालतको आदेश मुख्यतः फेसबुक र इन्स्टाग्राममा लागू हुनेछ। ह्वाट्सएपलाई भने अदालतले यस मुद्दामा स्थापित ‘सार्वजनिक उपद्रव’ मा योगदान गर्ने प्लेटफर्मका रूपमा नठहर गरेकाले यी सुधारको दायरामा राखिएको छैन।

मेटाले अदालतको निर्णयप्रति असहमति जनाउँदै पुनरावेदन गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्ना प्लेटफर्म सुरक्षित बनाउन निरन्तर काम गरिरहेको, हानिकारक सामग्री तथा दुरुपयोग गर्ने प्रयोगकर्ताको पहिचान र नियन्त्रणमा सुधार गरिरहेको र किशोर प्रयोगकर्ताको सुरक्षासम्बन्धी आफ्नो कार्यप्रति विश्वस्त रहेको जनाएको छ।

मेटाले अमेरिकाका अन्य राज्यमा पनि बालबालिका तथा किशोर प्रयोगकर्ताको सुरक्षा र सामाजिक सञ्जालका डिजाइनसम्बन्धी मुद्दा सामना गरिरहेको छ। क्यालिफोर्नियामा २९ राज्य संलग्न अर्को संघीय मुद्दाको सुनुवाइसमेत अघि बढ्दै छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button