१९ भाद्र २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय मोडलमा जाने भाटभटेनीको तयारी, भक्तपुरबाट २४ घण्टे सञ्चालन परीक्षण

ड्रागन मिडिया सम्वाददाता

भाटभटेनी सुपरमार्केटले आफ्ना स्टोरलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार २४ सै घण्टा सञ्चालन हुने मोडलमा लैजाने तयारी गरेको छ। पहिलो चरणमा भक्तपुरस्थित स्टोरबाट पाइलट परियोजनाका रूपमा नयाँ सञ्चालन प्रणाली शुरु गरिने भएको हो।

भाटभटेनीका सञ्चालक कल्याण गुरुङका अनुसार बुधबारदेखि भक्तपुर स्टोरमा २४ घण्टे सञ्चालन प्रणाली परीक्षण गर्ने तयारी गरिएको छ। यसअन्तर्गत रातिको समयमा सामान व्यवस्थापन, सरसफाइ, मूल्य ट्यागिङ, स्टक व्यवस्थापन तथा आपूर्ति लगायतका काम गरिनेछन्।

भाटभटेनीका स्टोर हाल बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म ग्राहकका लागि सञ्चालन हुँदै आएका छन्। नयाँ प्रणाली प्रभावकारी भएपछि ग्राहक सेवा अवधि समेत क्रमशः विस्तार गरी राति १० बजेसम्म पुर्‍याउने योजना रहेको गुरुङले बताएका छन्।

उनका अनुसार दिनको समयमा स्टोर खुलेपछि सामान राख्ने, अभाव भएका स्थानमा थप गर्ने र अन्य व्यवस्थापकीय काम गर्दा ग्राहकलाई केही असहज हुने गरेको अनुभवका आधारमा त्यस्ता अधिकांश काम रातिको समयमा सम्पन्न गर्ने योजना बनाइएको हो।

रातिको सञ्चालनका लागि छुट्टै ‘कोर टिम’ तयार गरिएको छ। रातिको समयमा काम गर्ने कर्मचारीलाई नियमित तलबभन्दा २५ प्रतिशत बढी पारिश्रमिक तथा चिया–खाजासहित अतिरिक्त सुविधा उपलब्ध गराइने भाटभटेनीले जनाएको छ।

रातिको सञ्चालनले स्टोर व्यवस्थापनसँगै सामान ढुवानीमा पनि सहजता ल्याउने अपेक्षा गरिएको छ। हाल दिनको समयमा ट्राफिकका कारण साना सवारीसाधनबाट पटक–पटक सामग्री ढुवानी गर्नुपर्ने अवस्था रहेकोमा रातिको समयमा ठूला गाडीबाट एकैपटक सामान पुर्‍याउन सकिने कम्पनीको भनाइ छ।

गुरुङका अनुसार भक्तपुरको परीक्षण सफल भएपछि बौद्ध, टंगाल, कोटेश्वर र पाटनस्थित स्टोरमा पनि क्रमशः २४ घण्टे सञ्चालन प्रणाली लागू गर्ने योजना छ। त्यसपछि पोखरा, बुटवल र नारायणगढसहित प्रमुख शहरका स्टोरमा पनि विस्तार गरिनेछ।

यस प्रयोजनका लागि पहिलो चरणमा करिब ५० देखि ५५ जना कर्मचारी परिचालन गर्ने तयारी गरिएको छ।

भाटभटेनी मुलुककै ठूलो खुद्रा चेन स्टोरमध्ये एक हो। गत वर्ष जेनजी आन्दोलनअघि देशभर कम्तीमा २८ वटा स्टोर सञ्चालनमा रहेकोमा आन्दोलनका क्रममा १२ भन्दा बढी स्टोरमा आगजनी भएको थियो। आगजनीबाट प्रभावित अधिकांश स्टोर पुनः सञ्चालनमा आइसकेका छन्।

भक्तपुरबाट शुरु हुने परीक्षण सफल भए भाटभटेनीले क्रमशः आफ्ना सबै स्टोरलाई विस्तारित तथा २४ घण्टे व्यवस्थापन प्रणालीमा लैजाने योजना बनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button