१९ भाद्र २०८३, शुक्रबार

तलब र महँगी भत्तामा विभेद अन्त्य गर्न शिक्षक महासंघको माग, भदौदेखि आन्दोलनको चेतावनी

ड्रागन मिडिया सम्वाददाता

नेपाल शिक्षक महासंघले प्रारम्भिक बालविकास कक्षाका शिक्षक, विद्यालय कर्मचारी तथा सिकाइ अनुदानमा कार्यरत शिक्षकलाई पनि अन्य शिक्षक–कर्मचारीसरह तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

काठमाडौंमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषद्का निर्णय सार्वजनिक गर्दै महासंघले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा ती शिक्षक तथा कर्मचारीलाई तलब वृद्धि र अन्य सुविधा नदिइएको भन्दै समान व्यवहार गर्न माग गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा प्रारम्भिक बालविकास शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकका लागि स्थायी दरबन्दी सिर्जना गर्नुपर्ने मागसमेत गरिएको छ। शिक्षकलाई निजामती कर्मचारीसरह स्थानीय तथा दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेको प्रतिबद्धताअनुसार शिक्षा क्षेत्रमा कुल राष्ट्रिय बजेटको २० प्रतिशत लगानी सुनिश्चित गर्न माग गरेको छ। संविधानको भावनाअनुसार माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने तथा सामुदायिक विद्यालयका विद्यार्थीका लागि छात्रवृत्ति र दिवा खाजाको रकम वृद्धि गर्नुपर्ने निर्णय पनि परिषद्ले गरेको छ।

विद्यालयले तिर्नुपर्ने विद्युत र खानेपानी महसुल छुट गर्नसमेत महासंघले माग गरेको छ।

शिक्षक, विद्यार्थी र समग्र शिक्षा प्रणालीमैत्री विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न सरकार तथा संघीय संसद्को ध्यानाकर्षण गराउँदै महासंघले राहत, साविक उच्च माध्यमिक तह, अस्थायी करार, विशेष शिक्षा तथा प्राविधिक धारमा कार्यरत शिक्षकको पेशागत सुरक्षा र स्थायित्व सुनिश्चित गर्नुपर्ने जनाएको छ।

शिक्षा नियमावलीको १०औँ संशोधनपछि शिक्षक सरुवा व्यवस्था अव्यावहारिक बनेको दाबी गर्दै महासंघले उक्त व्यवस्था खारेज गर्न पनि माग गरेको छ।

महासंघले सुनसरीको कप्तानगञ्जबाट शुरु भई मधेश प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति पुनःस्थापना र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेको छ।

त्यस्तै, पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जासहितका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।

महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न र आफ्ना मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेको छ। मागप्रति सरकार उदासीन रहे भदौदेखि सशक्त आन्दोलन शुरु गर्ने चेतावनीसमेत महासंघले दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button