१९ भाद्र २०८३, शुक्रबार

देशमा ‘शासकीय अराजकता’ देखिएको गगन थापाको आरोप

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा अहिले ‘शासकीय अराजकता’ को अवस्था देखिएको टिप्पणी गरेका छन्।

शुक्रबार पार्टी निकट आदिवासी जनजाति महासंघको भेलालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीदेखि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद र मन्त्रीसम्मको व्यवहारमा अराजक प्रवृत्ति देखिएको आरोप लगाए।

सत्तारुढ दलका सांसदले कर्मचारीलाई हप्काउने, मन्त्रीले उत्तेजक अभिव्यक्ति दिने र जिम्मेवार पदमा रहेकाहरूले संस्थागत मर्यादा उल्लंघन गर्ने गतिविधि भइरहेको उनको भनाइ थियो।

थापाले भने, ‘सत्ताधारी पार्टीका सांसदले कर्मचारी हप्काएका छन्, मन्त्रीले उत्तेजना फैलाउने अभिव्यक्ति दिएका छन्। मैले यस्तो पहिले कहिल्यै देखेको थिइनँ। अहिले म शासकीय अराजकता देखिरहेको छु।’

उनले सांसद र मन्त्रीबाट ‘खुट्टा भाँच्छु’ जस्ता अभिव्यक्ति आएको, प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीको अनुपस्थितिमा बैठक गरेको तथा अर्थमन्त्रीले गभर्नरबिनै बैठक गरेको भन्दै आलोचना गरे।

प्रधानमन्त्रीको सचिवालयले व्यक्तिलाई नियन्त्रणमा लिएको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई दबाब दिएर निर्णय गराइएको समेत थापाले आरोप लगाए। यी दाबीहरूको स्वतन्त्र पुष्टि भने गरिएको छैन।

‘यो अराजकता हो, शासकीय अराजकता हो। यसलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्छ,’ उनले भने।

थापाले वर्तमान सरकारले संविधानसम्बन्धी विषयलाई पर्याप्त संवेदनशीलताका साथ नलिएको आरोप पनि लगाए। संविधान संशोधनजस्तो विषय सामान्य राजनीतिक प्रयोग वा हल्का बहसको विषय हुन नसक्ने उनको भनाइ थियो।

‘सरकारले संविधान चलाउन चाहेको छ। चलाउनु पनि पर्छ। तर सरकारको संविधानप्रतिको बुझाइले देशलाई ठूलो द्वन्द्वमा धकेल्न सक्छ। हामीले द्वन्द्वमा जान दिनु हुँदैन,’ उनले भने।

थापाले रास्वपा नेताहरूलाई समेत संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा नलिन आग्रह गरेको बताए।

‘यो भाँडाकुटी खेलेको जस्तो होइन। केही ब्रोहरू जम्मा गरेर हल्ला गरेको जस्तो होइन। हल्का ढंगले डिल गरेर हुँदैन,’ उनले भने।

थापाले संविधान, राज्यका संस्था र शासकीय मर्यादाको संरक्षणमा नेपाली कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button