१९ भाद्र २०८३, शुक्रबार

प्रदेश सरकारमा अस्थिरताले जनविश्वास कमजोर बनाएको शंकर पोखरेलको टिप्पणी

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेका महासचिव शंकर पोखरेलले लगातारको राजनीतिक अस्थिरताका कारण प्रदेश सरकारप्रति जनताको विश्वास कमजोर बन्दै गएको बताएका छन्।

शुक्रबार मन्थलीमा प्रेस चौतारी नेपाल रामेछापमा आबद्ध पत्रकारहरूसँग कुराकानी गर्दै पोखरेलले पटक–पटक सरकार परिवर्तन हुँदा जनतामा निराशा बढेको बताए। संघीयता कार्यान्वयनको प्रमुख आधार प्रदेश सरकार भए पनि राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो असर यही तहमा परेको उनको भनाइ छ।

प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाउने प्रवृत्तिप्रति आपत्ति जनाउँदै पोखरेलले प्रदेशका कारण राज्यको खर्च बढेको भन्ने धारणा सही नभएको दाबी गरे। तीन तहका सरकारमध्ये प्रदेश सरकारले पुँजीगत खर्चमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले भने, ‘प्रदेश छैन भने संघीयता नै छैन। संघीयता ठीक हो भन्ने हो भने प्रदेशको भूमिकालाई स्वीकार गर्नुपर्छ।’

प्रदेश सरकारमा स्थायित्व कायम गर्ने उद्देश्यले नेपाली कांग्रेससँग सहकार्य गरिएको भए पनि कांग्रेसले सहकार्य तोडेपछि अहिलेको राजनीतिक अवस्था सिर्जना भएको पोखरेलको आरोप छ। कांग्रेस नेतृत्वका प्रदेश सरकारमा मुख्यमन्त्रीहरूले एमालेका मन्त्री हटाएपछि सत्ता समीकरण फेरिएको उनले बताए।

एमाले अझै पनि कांग्रेस र नेकपासहितको सहकार्यमा प्रदेश सरकार सञ्चालन गर्ने पक्षमा रहेको उनको दाबी छ। तर कांग्रेस तीन दलबीचको सहकार्यमा सरकार सञ्चालन गर्न तयार नभएको उनले बताए। मधेस प्रदेशमा भने कांग्रेसले तीन दलसँग मिलेर सरकारको नेतृत्व गरिरहेको उदाहरण उनले प्रस्तुत गरे।

पोखरेलले वर्तमान राजनीतिक परिस्थितिमा सबैभन्दा महत्वपूर्ण आवश्यकता स्थायित्व भएको बताए। जनताको यही चाहनालाई सम्बोधन गर्न एमालेले प्रदेश सरकार र पार्टी नेतृत्वमा निरन्तरता दिनुपर्ने धारणा आफूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष राखेको जानकारी उनले दिए।

मुलुकका वर्तमान चुनौती सामना गर्न एमाले नै सक्षम राजनीतिक शक्ति भएको दाबी गर्दै पोखरेलले लोकतन्त्र, संविधान र राष्ट्रको रक्षाका लागि राजनीतिक दलहरू बलियो हुनुपर्ने बताए। कार्यकर्ताको मनोबल उकास्ने र जनतामा कमजोर बनेको विश्वास पुनःस्थापित गर्ने कामलाई पार्टीले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

पार्टी पुनर्गठन अभियान कुनै व्यक्ति विशेषविरुद्ध लक्षित नभएको स्पष्ट पार्दै उनले वैचारिक र राजनीतिक रूपमा एमालेलाई थप बलियो बनाउन शुद्धीकरण तथा संगठन सुदृढीकरण आवश्यक रहेको बताए।

वर्तमान सरकारको कार्यसम्पादनप्रति पनि पोखरेलले आलोचना गरे। सरकार शुरुमा पर्याप्त तयारीका साथ आएको जस्तो देखिए पनि सय दिन पुग्दासम्म पूर्णरूपमा असफल भएको उनको दाबी छ।

सरकारले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसकेको उल्लेख गर्दै पोखरेलले वर्तमान कार्यशैलीकै कारण नागरिकमा शासन व्यवस्था र राजनीतिक प्रणालीप्रति वितृष्णा बढ्ने जोखिम रहेको चेतावनी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button