१९ भाद्र २०८३, शुक्रबार

संविधान संशोधन आवश्यक छैन, यही संविधान अझै ५० वर्ष चल्न सक्छ : प्रधानमन्त्री शाह

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले तत्काल संविधान संशोधन आवश्यक नरहेको धारणा व्यक्त गरेका छन्।

सिंहदरबारमा भएको एक राजनीतिक भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सरकार र रास्वपाले संविधान संशोधनको आवश्यकता महसुस नगरेको र अन्य राजनीतिक दलहरूले लामो समयदेखि उठाउँदै आएको मागका कारण मात्र सरकारले यससम्बन्धी प्रक्रिया अघि बढाएको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।

ती नेताका अनुसार प्रधानमन्त्री शाहले भने, ‘सरकार र रास्वपालाई संविधान संशोधन चाहिएकै छैन। अन्य दलहरूले लामो समयदेखि संविधान संशोधनको कुरा उठाइरहेकाले सरकारले प्रक्रिया अघि बढाएको मात्र हो। यो संविधान अझै ५० वर्षसम्म परिवर्तन गर्नुपर्ने आवश्यकता छैन।’

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि संविधान संशोधनका लागि गठित कार्यदलको औचित्यबारे समेत बैठकमा प्रश्न उठेको बताइएको छ।

वार्तामा सहभागी ती नेताले भने, ‘सायद संविधान संशोधन नहुने देखेर नै एमालेसहितका दलहरूले कार्यदलबाट आफ्ना प्रतिनिधि फिर्ता लिएका हुन्। प्रधानमन्त्री आफैँ संविधान संशोधनप्रति सकारात्मक नदेखिएपछि यो कार्यदलको औचित्य के रहन्छ भन्ने प्रश्न उठेको छ।’

पछिल्लो समय संविधान संशोधनका विषयमा सत्तारुढ तथा प्रतिपक्षी दलबीच फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री शाहको भनाइले बहसलाई थप नयाँ मोड दिएको छ।

सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताइरहे पनि प्रधानमन्त्री स्वयं तत्काल संशोधन आवश्यक नरहेको पक्षमा देखिएको भन्ने बैठक सहभागीको दाबीपछि सरकारको वास्तविक प्राथमिकता, कार्यदलको भूमिका र संशोधन प्रक्रिया कति अघि बढ्छ भन्ने विषयमा राजनीतिक चासो बढेको छ।

प्रधानमन्त्री शाहको उक्त भनाइबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय वा रास्वपाबाट औपचारिक धारणा भने सार्वजनिक भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button