अमान्डा नक्सको एडिनबरा कमेडी शो विवादमा, मेरिडिथ कर्चरकी बहिनीले उठाइन् आपत्ति

ड्रागन मिडिया समाचार कक्ष
इटालीमा १९ वर्षअघि आफ्नी बेलायती रूममेट मेरिडिथ कर्चरको हत्या तथा यौन हिंसासम्बन्धी मुद्दामा दोषी ठहर भई पछि सफाइ पाएकी अमेरिकी अमान्डा नक्स आफ्नो नयाँ कमेडी कार्यक्रमलाई लिएर विवादमा परेकी छन्।
स्कटल्यान्डको एडिनबरा फ्रिन्ज फेस्टिभलमा प्रस्तुत हुन लागेको नक्सको कार्यक्रमले महिलामाथिको हिंसालाई हल्का रूपमा प्रस्तुत गरेको भन्दै कर्चरकी बहिनीले आपत्ति जनाएकी छन्। नक्सले भने उक्त आरोप अस्वीकार गर्दै कार्यक्रमले कर्चरको स्मृतिको सम्मान गर्ने र उनी तथा कर्चर दुवैमाथि भएको अन्याय र हिंसाबारे प्रश्न उठाउने बताएकी छन्।
हाल ३९ वर्षकी नक्सले बिहीबार इन्स्टाग्राममार्फत आफ्नो कार्यक्रम ‘Cartwheel’ ले “मेरिडिथ कर्चरको स्मृतिको सम्मान गर्ने” र आफू तथा कर्चरमाथि भएको हिंसाबारे बोल्ने दाबी गरेकी छन्।
कार्यक्रमको नाम ‘Cartwheel’ नक्सले कर्चरको मृत्युपछि प्रहरी कार्यालयमा कार्टव्हील गरेको भन्ने विगतमा व्यापक रूपमा फैलिएको कथासँग सम्बन्धित छ। कार्यक्रम शुक्रबार साँझबाट शुरु हुँदैछ र एडिनबरामा आयोजना हुने वार्षिक फ्रिन्ज फेस्टिभलमा लगातार ११ रात प्रदर्शन गर्ने तयारी छ।
कार्यक्रमको प्रचार सामग्रीमा नक्सलाई ४० वर्ष नजिक पुगेकी, मातृत्व सम्हालिरहेकी र आफूले गलत रूपमा जेल सजाय भोग्नुपरेको अनुभवप्रति अन्ततः खुलेर आक्रोश व्यक्त गर्न खोजिरहेकी महिलाका रूपमा प्रस्तुत गरिएको छ। सामग्रीले विश्वको एक भागले उनलाई विगत बिर्सन आग्रह गरिरहँदा अर्को भागले अझै पनि दोषी ठानिरहेको विरोधाभाषलाई कार्यक्रमको मुख्य विषय बनाएको छ।
सन् २००७ मा नक्स २० वर्षकी विद्यार्थीका रूपमा इटालीको पेरुजियामा अध्ययनरत थिइन्। सोही वर्ष नोभेम्बर २ मा उनीसँगै अपार्टमेन्टमा बस्ने बेलायती विद्यार्थी मेरिडिथ कर्चर मृत अवस्थामा फेला परेकी थिइन्।
घटनापछि नक्स र उनका तत्कालीन प्रेमी राफाएले सोल्लेसितोमाथि अनुसन्धान केन्द्रित भएको थियो। नक्सले अनुसन्धान र प्रारम्भिक अदालती प्रक्रियाका क्रममा करिब चार वर्ष जेलमा बिताएकी थिइन्। पछि पेरुजियाको पुनरावेदन अदालतबाट रिहा भएकी उनी र सोल्लेसितोलाई सन् २०१५ मा इटालीको सर्वोच्च अदालतले अन्तिम रूपमा सफाइ दिएको थियो।
यस मुद्दामा आइभोरी कोस्टका रुडी हर्मन गुएडेलाई पछि दोषी ठहर गरिएको थियो। घटनास्थलमा उनको डीएनए फेला परेको थियो। उनलाई १६ वर्षको जेल सजाय सुनाइएकोमा अधिकांश सजाय अवधि पूरा गरेपछि सन् २०२१ मा रिहा गरिएको थियो।
नक्सको नयाँ कार्यक्रमले उनको न्यायिक अनुभव, सार्वजनिक छवि र लामो समयदेखि जारी विवादलाई व्यंग्यात्मक तथा व्यक्तिगत अभिव्यक्तिमार्फत प्रस्तुत गर्ने तयारी गरेको छ। तर कर्चर परिवारबाट आएको आलोचनापछि कार्यक्रम शुरु हुनुअघि नै यसले महिला हिंसाको संवेदनशीलता र अपराधसँग जोडिएका व्यक्तिगत अनुभवलाई मनोरञ्जनको माध्यमबाट प्रस्तुत गर्ने सीमाबारे नयाँ बहस सिर्जना गरेको छ।





