विभिन्न सीमा नाकाबाट ५२६ रोहिंग्या नेपाल प्रवेश गरेको प्रहरीको अनुसन्धान

ड्रागन मिडिया सम्वाददाता
विभिन्न सीमा नाकाबाट कम्तीमा ५२६ जना रोहिंग्या नेपाल प्रवेश गरेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले प्रहरी अनुसन्धानबाट उक्त संख्या पुष्टि भएको जानकारी दिए।
यसअघि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि रोहिंग्या समुदायका व्यक्तिहरू नेपाल प्रवेश गरेको पाइएको बताएका थिए।
प्रहरीका अनुसार नेपाल प्रवेश गरेकामध्ये १६२ जना पुरुष, १४८ जना महिला र २१६ जना बालबालिका रहेका छन्।
उनीहरू काठमाडौंको कपन र राममन्दिर क्षेत्र तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेको पाइएको प्रहरीले जनाएको छ।
नेपाल प्रवेशको मार्ग, उनीहरूको हालको अवस्था तथा बसोबाससम्बन्धी थप विवरणबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।





