त्रिमुल पार्टीका अध्यक्ष भरत दाहाल नामको फेसबुक पोस्टले विवाद निम्त्यायो
काठमाडौं विश्वविद्यालय र दलाई लामा समूहमाथि गम्भीर आरोप

काठमाडौं – त्रिमुल पार्टीका अध्यक्ष तथा राजनीतिक विश्लेषक भरत दाहालकाे नामबाट खाेलिएकाे सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टेटस अपडेट गर्दै काठमाडौं विश्वविद्यालय (केयू), अमेरिकी सञ्जालविद जर्ज सोरोस, दक्षिण कोरियाली ‘युनिभर्सल चर्च’ र दलाई लामाको समूहलाई लक्षित गर्दै गम्भीर आरोपहरू लगाइएकाे छ।
दाहालले आफ्नो पोस्टमा दलाई लामाको तथाकथित ‘TOB’ समूहले सिंहदरबारमा आगजनी गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी फुत्काउने प्रयास गरेको भन्ने कुरा “विदेशीलाई जिस्काउने प्रचारबाजी मात्र” भएको दाबी गरेका छन्।
उनले काठमाडौं विश्वविद्यालयलाई स्थापनाकालदेखि नै ‘कुख्यात अपराधी’ जर्ज सोरोस र दक्षिण कोरियाका हतियार तस्कर ‘मुन’ को अड्डा भएको आरोप समेत लगाएका छन्। “यो विश्वविद्यालयका चन्दादाता वा लगानीकर्ताहरूको नाम हेरे सबै कुरा थाहा हुन्छ,” उनको स्टेटसमा उल्लेख छ।

दाहालले इन्डो-पश्चिमा साम्राज्यवादीहरू चीनसँग सिधा जुध्न नसकेपछि भाषा, संस्कृति र जनजीवनको अध्ययनको बहानामा दलाई लामाको पक्षमा वातावरण बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। उनले तिब्बत सम्बन्धी कार्यक्रम पनि त्यसैको हिस्सा भएको बताएका छन्।
त्यस्तै, उनले पोस्टमा TOB समूहले दलाई लामाको जन्मोत्सव मनाएर चिनियाँ मानसिकता जाँच्ने प्रयास गरेको पनि दाबी गरेका छन्। यस क्रममा दाहालले प्रश्न उठाएका छन्, “काठमाडौं विश्वविद्यालयका सोरोस र मुनका कर्मचारीहरूले नेपालकै भाषा, संस्कृति, जनजीवनका बारेमा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्न सक्दैनन् ?”
पोस्टको अन्त्यमा दाहालले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदा दलाई लामाका TOB समूहले जलाइरहेको आरोप लगाउँदै यी समूहलाई तिब्बतको चिन्ता मात्र भएको टिप्पणी गरेका छन्।
दाहालले उक्त पोस्टमा उल्लेख गरेका आरोपहरूको विषयमा हालसम्म काठमाडौं विश्वविद्यालय वा सम्बन्धित कुनै पनि निकायबाट आधिकारिक प्रतिक्रिया आइसकेको छैन।





