१७ भाद्र २०८३, बुधबार

एकै दिन हलमा ‘हली’ र ‘कमला मिस’: नेपाली चलचित्रमा सामाजिक यथार्थ र मनोविज्ञानको फरक प्रस्तुति

ड्रागन मिडिया सम्वाददाता

नेपाली चलचित्र बजारमा शुक्रबार दुई फरक प्रकृतिका चलचित्र ‘हली’ र ‘कमला मिस’ एकसाथ प्रदर्शनमा आएका छन्। एउटाले नेपाली समाजमा कायम सामाजिक कुरीति र महिलाले भोग्नुपरेको पीडालाई केन्द्रमा राखेको छ भने अर्कोले साहित्यिक आधारमा मानवीय मनोविज्ञान, पारिवारिक सम्बन्ध र भावनात्मक द्वन्द्वलाई पर्दामा उतार्ने प्रयास गरेको छ।

ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको ‘हली’ वास्तविक घटनाबाट प्रेरित सामाजिक चलचित्र हो। चलचित्रले विशेषगरी पश्चिम नेपालका केही क्षेत्रमा अझै देखिने छाउपडी प्रथा र त्यसबाट महिला तथा किशोरीले भोग्नुपर्ने सामाजिक विभेदलाई कथाको केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा प्रमोद दीप, सुजता थापा, ओम प्रतीक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारको अभिनय छ। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठ हुन्।

‘हली’को प्रचारात्मक गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियङ्का कार्की र पूजा शर्माले विशेष प्रस्तुति दिएका छन्। चलचित्रमा राहुल राईको छायाङ्कन तथा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको सङ्गीत रहेको छ।

यसैबीच वरिष्ठ चलचित्रकर्मी नीर शाहको निर्देशनमा बनेको ‘कमला मिस’ पनि शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। करिब एक दशकपछि शाह पुनः चलचित्र निर्देशनमा फर्किएकाले यो चलचित्रलाई नेपाली चलचित्र क्षेत्रमा विशेष चासोका साथ हेरिएको छ।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही किन बर्बाद होस्’बाट प्रेरित ‘कमला मिस’ मनोवैज्ञानिक तथा पारिवारिक कथामा आधारित छ। चलचित्रले मानिसको आन्तरिक मनोदशा, पारिवारिक सम्बन्ध, मातृत्व, प्रेम, त्याग र भावनात्मक संघर्षलाई केन्द्रमा राखेको छ।

चलचित्रमा नीर शाह स्वयंका साथै रमेश बुढाथोकी, बसना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरव दाहाल, भावना मगर, कृष्णमुरारी ढुङ्गेल, सुसान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारको अभिनय छ।

विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा उमा मल्लले निर्माण गरेको चलचित्रको पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले तयार गरेका हुन्। चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन र युग भुसालको सङ्गीत रहेको छ।

एउटै दिन प्रदर्शनमा आएका यी दुई चलचित्रको विषयवस्तु र प्रस्तुति एकअर्काभन्दा पृथक छन्। ‘हली’ले सामाजिक कुरीतिविरुद्ध परिवर्तनको सन्देश अघि सारेको छ भने ‘कमला मिस’ले साहित्य, मनोविज्ञान र पारिवारिक संवेदनालाई चलचित्रको भाषामा प्रस्तुत गरेको छ।

नेपाली चलचित्रमा हास्य, प्रेम र व्यावसायिक मनोरञ्जनसँगै सामाजिक तथा साहित्यिक कथामा आधारित चलचित्रको उपस्थितिले दर्शकलाई विषयवस्तुका हिसाबले फरक विकल्पसमेत उपलब्ध गराएको छ। अब यी दुई चलचित्रलाई दर्शकले कस्तो साथ दिन्छन् भन्ने कुरा आगामी दिनको प्रदर्शन र व्यापारले स्पष्ट गर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button