१७ भाद्र २०८३, बुधबार

भारतले चलचित्र तथा सिर्जनात्मक उद्योगलाई विश्व बजारसँग जोड्दै, पाइरेसीविरुद्ध पनि कडा कारवाही

ड्रागन मिडिया समाचार कक्ष

भारतले चलचित्र, एनिमेसन, भीएफएक्स, गेमिङ र डिजिटल सामग्रीलाई समेटेर आफ्नो सिर्जनात्मक उद्योगको अन्तर्राष्ट्रिय विस्तार तीव्र बनाएको छ। यससँगै चलचित्र पाइरेसीविरुद्ध कानुनी तथा प्राविधिक कारवाही पनि व्यापक बनाइएको छ।

भारतको सूचना तथा प्रसारण मन्त्रालयका अनुसार मुम्बईमा अगस्ट ६ देखि आयोजित BRICS WAVES Bazaar मा ब्रिक्स सदस्य तथा साझेदार देशका ५०० भन्दा बढी प्रतिनिधि सहभागी भएका छन्। सरकारी प्रतिनिधि, चलचित्र निर्माता, लगानीकर्ता, प्रसारक, ओटीटी प्लेटफर्म, प्रविधि कम्पनी, स्टार्टअप र सांस्कृतिक संस्थालाई एउटै व्यावसायिक मञ्चमा ल्याइएको छ।

कार्यक्रममा २१ देशका प्रतिनिधित्व रहेको र अन्तर्राष्ट्रिय सह-निर्माण, सामग्री वित्तपोषण, प्रविधि, बौद्धिक सम्पत्ति, बजार पहुँच र दक्षिण–दक्षिण सहकार्यलाई मुख्य प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

भारतले WAVES Bazaar लाई वर्षभर सञ्चालन हुने विश्वव्यापी सिर्जनात्मक बजारका रूपमा विकास गर्दैछ। WaveX मार्फत सिर्जनात्मक प्रविधि स्टार्टअपलाई लगानीकर्ता र इन्क्युबेटरसँग जोड्ने तथा Indian Institute of Creative Technologies मार्फत एनिमेसन, भीएफएक्स, गेमिङ, कमिक्स र एक्सटेन्डेड रियालिटी क्षेत्रमा दक्ष जनशक्ति तयार गर्ने प्रयास पनि अघि बढाइएको छ।

अर्कोतर्फ भारत सरकारले चलचित्र पाइरेसी नियन्त्रणका लागि ७ हजार ३९३ अनलाइन ठेगानामा पहुँच बन्द गर्न निर्देशन दिइएको जनाएको छ। तीमध्ये ४ हजार ९९६ टेलिग्राम च्यानल र एक हजार २६३ वेबसाइट छन्।

चलचित्र उत्पादनदेखि वितरण, डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय बजार र प्रतिलिपि अधिकार संरक्षणसम्म एकीकृत दृष्टिकोण अपनाउने यी कदमले भारतले चलचित्रलाई मनोरञ्जन उद्योग मात्र नभई व्यापक सिर्जनात्मक अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रूपमा विकास गर्न खोजिरहेको देखाउँछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button