१९ भाद्र २०८३, शुक्रबार

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कबिहीन, गोरुसिङ्गे जंगलमा खोजी जारी

ड्रागन मिडिया सम्वाददाता

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कबिहीन भएका छन्। उनी चढ्ने मोटरसाइकल गोरुसिङ्गे जंगल क्षेत्रमा फेला परे पनि शनिबार बिहानसम्म सिंहको अवस्था पत्ता लाग्न सकेको छैन।

सम्पर्कबिहीन भएपछि शुक्रबार दिनभर र रातिसम्म प्रहरी, स्थानीय बासिन्दा तथा आफन्तले विभिन्न क्षेत्रमा खोजी गरेका थिए। राति करिब डेढ बजेसम्म खोजी गर्दा पनि उनी नभेटिएपछि शनिबार बिहानदेखि पुनः खोजी कार्य शुरु गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेसहितको प्रहरी टोली, स्थानीय बासिन्दा र आफन्त बिहानैदेखि जंगल तथा आसपासका क्षेत्रमा परिचालित भएका छन्।

शुक्रबार राति ठूलो संख्यामा स्थानीय बासिन्दासहितको टोलीले ढेकहरी क्षेत्र र आसपासका विभिन्न स्थानमा खोजी गरेको थियो। सिंहले प्रयोग गर्ने मोटरसाइकल जंगल क्षेत्रमा भेटिएपछि खोजी त्यस आसपास केन्द्रित गरिएको हो।

पूर्वमेयर सिंहले ढेकहरी क्षेत्रमा व्यावसायिक फार्म सञ्चालन गर्ने तयारी गरिरहेका थिए। त्यस क्रममा उनी यसअघि पनि पटकपटक उक्त क्षेत्रमा जाने गरेको पारिवारिक तथा स्थानीय श्रोतले बताएका छन्।

उनको मोटरसाइकल जंगलमा फेला परे पनि उनी कहाँ र कुन अवस्थामा छन् भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन।

प्रहरीले सम्भावित स्थानमा खोजीलाई निरन्तरता दिएको छ भने स्थानीय बासिन्दा र आफन्तसमेत खोजी कार्यमा सहभागी छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button