नौ जिल्लाबाट लागुऔषधसहित २० जना पक्राउ
ड्रागन मिडिया सम्वाददाता
देशका विभिन्न स्थानमा नियमित गस्ती तथा चेकजाँचमा खटिएका प्रहरी टोलीले लागुऔषधसहित २० जनालाई पक्राउ गरेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।
भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट एक जना र मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट एक जनालाई पक्राउ गरिएको छ। रूपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटेपिपलबाट एक जना र सिद्धार्थनगर नगरपालिका–९ उदयपुरबाट एक जना पक्राउ परेका छन्।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१७ पिप्रहवाबाट एक जना, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चुच्चेखोलाबाट एक जना तथा पाल्पाको रामपुर नगरपालिका–७ मोवटी शीतलनगरबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१७ झिगैबाट पाँच जना पक्राउ परेका छन्। झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित थुम्बेदिन होटल एण्ड लजबाट तीन जना तथा कन्काई नगरपालिका–४ कोटीहोमबाट एक जनालाई पक्राउ गरिएको छ।
यसैगरी धनकुटाको पाख्रीबास नगरपालिका–५ माङमायाबाट दुई जना र बाराको महागढीमाई नगरपालिका–१० गोवास टोलबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायत नियन्त्रित औषधि बरामद गरिएको छ।
उनीहरू शुक्रबार र त्यसअघिको बिहीबार पक्राउ परेका हुन्। सम्बन्धित प्रहरी कार्यालयहरूले घटनाबारे थप अनुसन्धान अघि बढाएका छन्।





