देशभर मनसुनी प्रभाव कायमै, कोशी–बागमती र कर्णालीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ।
कोशी, मधेस र बागमती प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईका भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका पहाडी भागका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
वर्षा र प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरिएको छ।





