१९ भाद्र २०८३, शुक्रबार

सरकारी उद्योगमा सुधार देखिन थालेको प्रधानमन्त्री शाहको दाबी

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थानमा सुधारका संकेत देखिन थालेको बताएका छन्। राष्ट्रिय उद्योगलाई पुनः सञ्चालनमा ल्याउने र प्रतिस्पर्धी बनाउने प्रयासलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत राष्ट्रिय उद्योग तथा संस्थानको अवस्थालाई लिएर लामो समयदेखि रहेको निराशाबीच पछिल्ला केही महिनामा सकारात्मक परिणाम देखिन थालेको बताएका हुन्।

“जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ; तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्,” उनले लेखेका छन्।

उनका अनुसार सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनर्जीवन दिन सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकता दिएको छ। कानुन कार्यान्वयन र निरन्तर सामूहिक प्रयासका कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको उनले बताएका छन्।

प्रधानमन्त्री शाहले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखाना विकास समितिमा भएको पछिल्लो प्रगतिलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

उनका अनुसार लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा दुई करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्याससम्बन्धी मापदण्ड प्राप्त गरेपछि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले तीन करोड रुपैयाँ नाफा आर्जन गरेको उनले बताएका छन्।

चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ। सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत आगामी तीन वर्षमा लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य रहेको शाहले उल्लेख गरेका छन्।

यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारको उत्पादन तयारी अन्तिम चरणमा पुगेको र हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको उनले बताएका छन्।

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको पनि प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार तान मर्मतपछि परीक्षण उत्पादन शुरु भइसकेको छ। परीक्षण पूरा भएपछि उद्योग नेपाल सरकारले सञ्चालन गर्ने तयारी छ।

नेपाल वायुसेवा निगमको आम्दानीमा पनि सुधार आएको शाहको दाबी छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले छ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको उनले बताएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।

उक्त अवधिमा निगमको सीट उपयोग दर ८६ प्रतिशत पुगेको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ प्रतिशत बिन्दुले बढी हो। जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणमध्ये एक अर्ब छ करोड १९ लाख रुपैयाँ किस्तासमेत सोही अवधिमा भुक्तानी गरिएको शाहले उल्लेख गरेका छन्।

दुग्ध विकास संस्थानमा किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको पनि उनले बताएका छन्। उनका अनुसार आठ महिनासम्म पुगेको भुक्तानी अवधि दुईदेखि तीन महिनामा झारिएको छ भने बक्यौता रकम ७२ करोड रुपैयाँबाट घटेर ३५ करोड रुपैयाँमा पुगेको छ।

किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ। सुधारका प्रयासपछि संस्थानको दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक आम्दानी ६० लाख रुपैयाँबाट ९० लाख रुपैयाँ पुगेको शाहको दाबी छ।

कानुनविपरीत कर्मचारीलाई दिइँदै आएको घ्यू र दूधको सुविधा हटाएर वार्षिक करिब तीन करोड रुपैयाँ बचत गरिएको उनले बताएका छन्।

दुग्ध विकास संस्थानले खाडी मुलुकमा घ्यू तथा चीनमा मक्खन र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको तथा नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः शुरु गर्न लागेको पनि शाहले उल्लेख गरेका छन्।

त्यस्तै, सिंहदरबार वैद्यखाना विकास समितिले वर्तमान सरकार गठन भएयता ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बिक्री गरेको प्रधानमन्त्री शाहले बताएका छन्।

उनका अनुसार गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको थियो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो।

हाल वैद्यखानाले निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य राखेको छ। अहिले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको र चालु आर्थिक वर्षमा यसलाई बढाएर १५० प्रकार पुर्‍याउने लक्ष्य रहेको शाहले बताएका छन्।

उनले धुलो र चक्कीका रूपमा उत्पादन हुने औषधिमा असल उत्पादन अभ्याससम्बन्धी मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम राख्न सके रुग्ण अवस्थामा रहेका अन्य सरकारी उद्योगलाई पनि पुनर्जीवन दिन सकिने विश्वास व्यक्त गरेका छन्।

उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउने सरकारको प्रयासमा नागरिकको रचनात्मक साथ, भरथेग र विश्वास आवश्यक रहेको उनले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button