इरान युद्धबाट निकास खोज्नुपर्ने अमेरिकी सैन्य प्रमुखको सुझाव

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी संयुक्त सेना प्रमुख समितिका अध्यक्ष जनरल ड्यान केनले इरानसँगको युद्धबाट बाहिरिने व्यावहारिक बाटो खोज्नुपर्ने धारणा राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्चस्तरीय सल्लाहकारसमक्ष राखेको सीएनएनले जनाएको छ।
सीएनएनले घटनाबारे जानकार तीन श्रोतलाई उद्धृत गर्दै पछिल्ला केही सातादेखि केनले युद्ध थप चर्काउँदा प्रतिकूल परिणाम आउन सक्ने र हवाई शक्ति मात्र प्रयोग गरेर राष्ट्रपति ट्रम्पले अघि सारेका उद्देश्य पूरा हुने सम्भावना कम रहेको धारणा राख्दै आएको जनाएको हो।
प्रतिवेदनअनुसार केनले केन्द्रीय गुप्तचर संस्था प्रमुख जोन र्याटक्लिफ, विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्सलगायत उच्च अधिकारीसँग पनि सम्भावित निकास र भावी रणनीतिबारे छलफल गरेका छन्।
राष्ट्रपति ट्रम्प भने इरानमा स्थल सेना पठाउने विषयप्रति निरन्तर अनिच्छुक देखिएका छन्। उनले हवाई आक्रमणको दबाबबाट तेहरानलाई अमेरिकी शर्तअनुसार सम्झौतामा ल्याउन सकिने विश्वास व्यक्त गर्दै आएका छन्।
तर केनसहित ट्रम्प प्रशासनका केही उच्च अधिकारीले यस्तो परिणाम हासिल हुने सम्भावनालाई निजी रूपमा कमजोर ठानेको सीएनएनको विवरणमा उल्लेख छ।
यो विवरण अमेरिकी सैन्य भण्डारमा केही प्रकारका हतियार तथा गोलाबारुदको उपलब्धताबारे चिन्ता बढिरहेका बेला सार्वजनिक भएको हो।
राष्ट्रपति ट्रम्पले बिहीबार अमेरिकी सेनासँग समग्र रूपमा पर्याप्त गोलाबारुद रहेको बताए पनि केही विशेष प्रकारका हतियारको भण्डार तुलनात्मक रूपमा घटेको स्वीकार गरेका थिए। पाँच महिनादेखिको युद्धका क्रममा अमेरिकी सेनाले लामो दूरीमा प्रहार गर्ने केही उच्च सटीकताका क्षेप्यास्त्र ठूलो परिमाणमा प्रयोग गरिसकेको विवरण यसअघि सार्वजनिक भएको थियो।
सीएनएनले पेन्टागनको तथ्याङ्क उद्धृत गर्दै इरानसँगको युद्धमा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भएको र ६८७ जना घाइते भएको जनाएको छ।
युद्ध लम्बिँदै जाँदा अमेरिकी जनमतमा पनि असन्तुष्टि बढेको देखिएको छ। हालैको वाशिङ्टन पोस्ट–इप्सोस जनमत सर्वेक्षणमा ६८ प्रतिशत अमेरिकीले इरानसँगको युद्ध लड्नुपर्ने अवस्थाको नभएको बताएका थिए भने २८ प्रतिशतले मात्र युद्धलाई उचित ठानेका थिए।
त्यस्तै रोयटर्स–इप्सोसको पछिल्लो सर्वेक्षणमा करिब ३५ प्रतिशत अमेरिकीले मात्र इरानसँगको युद्धलाई समर्थन गरेका छन्। पाँच महिनादेखि जारी द्वन्द्वको प्रारम्भिक चरणपछि देखिएको यो सबैभन्दा न्यून समर्थनमध्ये एक हो।
सैन्य विकल्पको सीमितता, केही प्रकारका हतियारको घट्दो भण्डार र युद्धप्रति बढ्दो घरेलु असन्तुष्टिका कारण ट्रम्प प्रशासनभित्र इरानसँगको द्वन्द्वलाई कसरी अन्त्य गर्ने भन्ने प्रश्न थप महत्वपूर्ण बन्दै गएको देखिएको छ।





