आठ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

ड्रागन मिडिया सम्वाददाता
आठ राजनीतिक दल तथा समूहले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्। काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा शनिबार आयोजित कार्यक्रमबाट मोर्चाको घोषणा गरिएको हो।
मोर्चा घोषणासँगै २८ बुँदे अवधारणा पत्रसमेत सार्वजनिक गरिएको छ। अवधारणा पत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले हस्ताक्षर गरेका छन्।
त्यसैगरी नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, बहुजन एकता पार्टीका अध्यक्ष डा. हरिनन्दन कुमार रञ्जन र खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले पनि अवधारणा पत्रमा हस्ताक्षर गरेका छन्।
मोर्चाको नेतृत्व निश्चित अवधिका लागि रहने व्यवस्था गरिएको छ। निर्णय सकेसम्म सर्वसम्मतिबाट गरिने र सर्वसम्मति हुन नसके लोकतान्त्रिक विधि तथा प्रक्रियाबाट निर्णय गरिने अवधारणा पत्रमा उल्लेख छ।
मोर्चाबाट भएका निर्णयको सम्मान गर्नु सबै सदस्यको कर्तव्य हुने र घटक दलले सार्वजनिक रूपमा मोर्चाको निर्णयविपरीत गतिविधि गर्न नपाउने व्यवस्था पनि गरिएको छ।
कुनै विषयमा घटक दलबीच विवाद उत्पन्न भए आपसी समझदारी र सहमतिका आधारमा समाधान खोजिने उल्लेख छ।
मोर्चाले निर्वाचनमा साझा रणनीति बनाउने तथा आवश्यकताअनुसार संयुक्त रूपमा सहभागी हुने नीति लिएको छ। आन्दोलन, जनसंघर्ष तथा जनजीविकासँग सम्बन्धित अभियान पनि संयुक्त रूपमा सञ्चालन गर्ने अवधारणा अघि सारिएको छ।
राष्ट्रिय महत्वका राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा साझा धारणा निर्माण गरी संयुक्त पहल गर्ने सहमति पनि अवधारणा पत्रमा समेटिएको छ।
मोर्चाको प्रस्तावना र उद्देश्यअनुकूल हुने गरी आवश्यक राजनीतिक, सङ्गठनात्मक तथा अन्य निर्णय गर्न र तिनलाई कार्यान्वयनमा लैजान सकिने व्यवस्था गरिएको छ।
मोर्चाको घोषणासँगै मधेशकेन्द्रित, पहिचानवादी तथा वैकल्पिक राजनीतिक शक्तिबीच निर्वाचन, जनजीविका र राष्ट्रिय राजनीतिक मुद्दामा साझा सहकार्यको नयाँ प्रयास शुरु भएको छ।





