१९ भाद्र २०८३, शुक्रबार

चालक र सहचालकको सुरक्षाका लागि कडा कानुन माग

ड्रागन मिडिया सम्वाददाता

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना वा अन्य घटनापछि चालक तथा सहचालकमाथि हुने कुटपिट र दुर्व्यवहार रोक्न कडा कानुन बनाउन सरकारसँग माग गरेका छन्।

शनिबार काठमाडौंमा तारकेश्वर यातायात प्रालिको सातौँ साधारणसभा उद्घाटन गर्दै सिटौलाले प्रहरी र यातायात प्रहरीसरह चालक तथा सहचालकको सुरक्षाका लागि पनि स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताए।

सवारी दुर्घटना भएपछि त्यसको छानबिन र कानुनी कारवाहीका लागि निश्चित प्रक्रिया रहेको उल्लेख गर्दै उनले घटनास्थलमै चालक तथा सहचालकमाथि हातपात र कुटपिट गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए।

सिटौलाले यातायात व्यवसायीले विद्यार्थी, दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति, महिला तथा ज्येष्ठ नागरिकलाई विभिन्न प्रकारका सहुलियत र छुट उपलब्ध गराउँदै आएको उल्लेख गरे।

सरकारले यातायात व्यवसायीलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको ६० प्रतिशत छुट रकम वा त्यससम्बन्धी नीति अविलम्ब कार्यान्वयन गर्नुपर्ने उनको माग छ।

उनले यातायात व्यवसायी र सहचालकलाई यात्रुसँग सम्मानजनक व्यवहार गर्न तथा सेवा गुणस्तरीय बनाउन आग्रह गरे।

यात्रुलाई दुर्व्यवहार नगर्न, जिम्मेवार व्यवहार गर्न र सुरक्षित तथा भरपर्दो सेवा प्रदान गर्न सबै यातायात व्यवसायी तथा श्रमिक प्रतिबद्ध हुनुपर्नेमा सिटौलाले जोड दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button