एमाले पुनर्गठन आवश्यक रहेको पोखरेलको भनाइ

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंको तारकेश्वरमा आयोजित नगरस्तरीय भेलालाई सम्बोधन गर्दै पोखरेलले पार्टी सचिवालयले पुनर्गठन आवश्यक रहेको निष्कर्षसहित कार्ययोजना तयार गर्न कार्यदल गठन गरेको बताए।
उनका अनुसार कार्यदलले पार्टी पुनर्गठनको कार्ययोजनाबारे छलफल गरिरहेको छ। कार्ययोजना तयार भएपछि पार्टीको संस्थागत निर्णयका रूपमा तल्लो तहसम्म पुर्याइने उनले बताए।
पोखरेलले पार्टी सुदृढीकरणका लागि केन्द्रबाट कार्ययोजना आउने प्रतीक्षा मात्र नगरी स्थानीय तहका नेता तथा कार्यकर्ताले आफ्नो जिम्मेवारीअनुसार पहलकदमी लिनुपर्नेमा जोड दिए।
उनले पार्टीबाट टाढिएका कार्यकर्तालाई समयमै समेट्न नसके पछि पुनः फर्काउन कठिन हुने उल्लेख गर्दै सङ्गठनसँग कार्यकर्ताको सम्बन्ध बलियो बनाउनुपर्ने बताए।
पोखरेलले वर्तमान राजनीतिक चुनौतीको सामना गर्ने सामर्थ्य एमालेसँग रहेको दाबी गरे। निर्वाचनमा पार्टीले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै उनले जनताको मनोविज्ञान र भावना बुझेर अगाडि बढ्नुपर्ने बताए।
“हामीले चुनाव हारेका छौँ, तर जनताको मनोविज्ञान र भावनालाई बुझेर अगाडि बढ्नका लागि हामी सङ्कल्पबद्ध बन्नुपर्छ,” उनले भने।
महासचिव पोखरेलले पार्टीको पुनर्गठनलाई केवल सङ्गठनात्मक फेरबदलका रूपमा नभई वैचारिक स्पष्टता, राजनीतिक कार्यदिशा र कार्यकर्ता परिचालनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए।





