१९ भाद्र २०८३, शुक्रबार

रुसमा सेप्टेम्बरदेखि कूटमुद्राका नयाँ नियम लागू हुने

ड्रागन मिडिया समाचार कक्ष

रुसमा कूटमुद्राको कारोबारसम्बन्धी नयाँ कानुनी व्यवस्था आगामी सेप्टेम्बर १ देखि लागू हुने भएको छ। नयाँ व्यवस्थाले कूटमुद्रालाई देशभित्र दैनिक भुक्तानीको माध्यम नबनाए पनि यसको खरिद, बिक्री, स्वामित्व र अन्तर्राष्ट्रिय कारोबारका लागि स्पष्ट कानुनी आधार तयार गर्नेछ।

रुसी सांसद इगोशिनले ताससँग कुरा गर्दै नयाँ व्यवस्थाअन्तर्गत रुबल नै रुसको एकमात्र कानुनी भुक्तानी माध्यम रहने बताएका छन्। त्यसैले देशभित्र वस्तु वा सेवाको सामान्य भुक्तानी कूटमुद्राबाट गर्न पाइने छैन।

तर नयाँ कानुनले कूटमुद्रालाई सम्पत्तिका रूपमा मान्यता दिनेछ। त्यसअनुसार कूटमुद्रा खरिद तथा बिक्री गर्न, उपहार दिन र उत्तराधिकारका रूपमा हस्तान्तरण गर्न सकिनेछ।

कूटमुद्रालाई रुबल वा अन्य सम्पत्तिसँग साट्ने कारोबार रुसको केन्द्रीय बैंकले मान्यता दिएको अभिलेखमा सूचीकृत मध्यस्थ संस्थामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ।

सामान्य लगानीकर्ताले आवश्यक परीक्षण पूरा गरेपछि एउटै मध्यस्थ संस्थामार्फत एक वर्षमा बढीमा तीन लाख रुबल बराबरको कूटमुद्रा खरिद गर्न पाउनेछन्। योग्य लगानीकर्ताका लागि भने रकमको यस्तो सीमा नरहने व्यवस्था गरिएको छ।

नयाँ कानुनले कूटमुद्रा कारोबारका लागि नियमन गरिएको संरचना स्थापना गर्नेछ। यसमा विद्यमान वित्तीय संस्था तथा कूटमुद्रा सटही र अङ्कीय सम्पत्ति अभिलेखसम्बन्धी नयाँ संस्थासमेत सहभागी हुनेछन्।

कूटमुद्रालाई विदेशी व्यापारको हिसाब मिलानमा समेत प्रयोग गर्न सकिनेछ। रुसका आयातकर्ता तथा निर्यातकर्ताले सीमापार व्यापारिक भुक्तानीमा कूटमुद्रा प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।

प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय भुक्तानी र रकम स्थानान्तरणमा कठिनाइ भोगिरहेका रुसी व्यवसायले यस्तो व्यवस्था लामो समयदेखि माग गर्दै आएका थिए।

रुसी अधिकारीका अनुसार नयाँ व्यवस्थाको उद्देश्य कूटमुद्रालाई देशभित्र वैकल्पिक मुद्रा बनाउनु नभई यसको कारोबारलाई कानुनी दायरामा ल्याउनु, लगानीकर्ताको हित संरक्षण गर्नु र विदेशी व्यापारमा थप भुक्तानी विकल्प उपलब्ध गराउनु हो।

यससँगै रुसमा कूटमुद्राको स्वामित्व र लगानीलाई कानुनी मान्यता दिँदै घरेलु मौद्रिक प्रणालीमा रुबलको एकाधिकार भने यथावत् राखिने भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button