१९ भाद्र २०८३, शुक्रबार

फिनल्यान्ड दूतावासमा दुई नयाँ अधिकारी

ड्रागन मिडिया सम्वाददाता

काठमाडौंस्थित फिनल्यान्ड दूतावासमा दुई नयाँ अधिकारीले जिम्मेवारी सम्हालेका छन्। इसा भाल्लियोनिएमी नियोग उपप्रमुख तथा वाणिज्यदूतका रूपमा र एलिना माल्मबर्ग दूतावास सचिवका रूपमा काठमाडौं आएका हुन्।

चिलीमा पाँच वर्ष काम गरेपछि भाल्लियोनिएमीले आफ्नो पहिलो एशियाली जिम्मेवारीका रूपमा नेपालमा कार्यभार सम्हालेका छन्। उनले सन् २००० देखि फिनल्यान्डको विदेश मन्त्रालयमा सेवा शुरु गरेका थिए।

दूतावासका अनुसार उनले यसअघि ल्याटिन अमेरिकाका तीन देशसँगै स्पेन र नाइजेरियामा समेत काम गरिसकेका छन्।

भाल्लियोनिएमी परिवारसहित नेपाल आएका हुन्। उनले काठमाडौंसँगै उपत्यकाबाहिरका विभिन्न क्षेत्र घुमेर नेपालको समाज, संस्कृति र जनजीवनलाई नजिकबाट बुझ्ने इच्छा व्यक्त गरेका छन्।

नयाँ देश र समाजबारे सिक्दै आफ्नो दृष्टिकोण फराकिलो बनाउने अवसरले कूटनीतिक सेवाप्रति आफ्नो रुचि कायम रहेको उनको भनाइ छ।

“काठमाडौंमा धेरै कुरा अनुभव गर्न बाँकी छन्। विशेषगरी शहरभित्रका कम परिचित तर महत्वपूर्ण स्थानहरू खोज्ने, हिमाली क्षेत्रमा पदयात्रा गर्ने र प्रकृतिसँग समय बिताउने मेरो इच्छा छ,” भाल्लियोनिएमीले बताएका छन्।

त्यस्तै, दूतावास सचिवका रूपमा जिम्मेवारी सम्हालेकी एलिना माल्मबर्गले व्यवसाय प्रशासनमा उच्च शिक्षा हासिल गरेकी छन्। उनी सन् २०२१ मा फिनल्यान्डको विदेश मन्त्रालयमा प्रवेश गरेकी हुन्।

उनको पहिलो विदेशस्थित जिम्मेवारी चीनको बेइजिङमा थियो, जहाँ उनले पछिल्ला तीन वर्ष काम गरेकी थिइन्। बेइजिङको जिम्मेवारी पूरा गरेलगत्तै उनी काठमाडौं आएकी हुन्।

माल्मबर्गले नेपालमा आफ्नो पेशागत जिम्मेवारीसँगै व्यक्तिगत जीवनमा पनि नयाँ अनुभव हासिल गर्ने अपेक्षा गरेकी छन्।

फिनल्यान्ड दूतावासले दुवै नयाँ अधिकारीलाई स्वागत गर्दै नेपालमा उनीहरूको कार्यकालले द्विपक्षीय सम्बन्ध, कूटनीतिक सम्पर्क तथा जनस्तरीय बुझाइलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button