१९ भाद्र २०८३, शुक्रबार

गृहमन्त्री गुरुङ र बेलायती राजदूत फेनबीच विपद तथा प्रहरी सहकार्यबारे छलफल

ड्रागन मिडिया सम्वाददाता

गृहमन्त्री सुदन गुरुङ र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच नेपाल–बेलायत सम्बन्ध, विपद पूर्वतयारी तथा प्रतिकार्य र आधुनिक प्रहरी प्रणालीमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

भेटमा दुवै पक्षले नेपाल र बेलायतबीचको दीर्घकालीन मित्रतालाई थप सुदृढ गर्दै बदलिँदो आवश्यकता र साझा प्राथमिकताअनुसार व्यावहारिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका छन्।

राजदूत फेनले गृहमन्त्री गुरुङसँगको भेटप्रति प्रसन्नता व्यक्त गर्दै दुई देशबीचको लामो मित्रतालाई पुनःपुष्टि गर्नुका साथै विपद पूर्वतयारी तथा प्रतिकार्य र आधुनिक प्रहरी व्यवस्थाका क्षेत्रमा संयुक्त प्राथमिकताबारे छलफल भएको बताए।

नेपाल भूकम्प, बाढी, पहिरो, डुबान तथा जलवायुजन्य विपदको उच्च जोखिममा रहेको सन्दर्भमा विपद व्यवस्थापनसम्बन्धी संस्थागत क्षमता, पूर्वतयारी, आपत्कालीन प्रतिकार्य तथा सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्ने विषय महत्वपूर्ण रहेको छ।

भेटमा आधुनिक प्रहरी व्यवस्थाका क्षेत्रमा पनि नेपाल र बेलायतका सम्बन्धित संस्थाबीच प्रत्यक्ष संस्थागत सहकार्य तथा अनुभव आदानप्रदान विस्तार गर्ने सम्भावनाबारे छलफल भएको राजदूत फेनले जनाए।

उनका अनुसार बेलायतले नेपालसँग यस्तो सहकार्यलाई परम्परागत सहयोगदाता–प्राप्तकर्ता सम्बन्धका रूपमा नभई समान तहका संस्थाबीचको अनुभव र विशेषज्ञता आदानप्रदानमा आधारित साझेदारीका रूपमा अघि बढाउन चाहेको छ।

यसअन्तर्गत नेपालका सुरक्षा निकाय र बेलायतका सम्बन्धित संस्थाबीच व्यावसायिक क्षमता विकास, आधुनिक प्रहरी अवधारणा, संस्थागत अनुभव तथा उपयुक्त अभ्यासको आदानप्रदानका सम्भावना रहेका छन्।

राजदूत फेनले उक्त सहकार्यलाई बेलायतले नयाँ नेपालसँग निर्माण गरिरहेको ‘लगानी तथा विशेषज्ञता साझेदारी’ को एउटा हिस्साका रूपमा उल्लेख गरेका छन्। यस साझेदारीको उद्देश्य दुवै देशमा उपलब्ध पूँजी, विशेषज्ञता, संस्थागत ज्ञान र अनुभवलाई पारस्परिक लाभका क्षेत्रमा जोड्नु रहेको उनको भनाइ छ।

नेपाल र बेलायतबीच आर्थिक तथा विकास साझेदारीलाई परम्परागत सहायता सम्बन्धबाट लगानी, विशेषज्ञता र पारस्परिक लाभमा आधारित सहकार्यतर्फ विस्तार गर्ने विषय पछिल्लो समय दुवै देशबीचको संवादमा प्राथमिकताका रूपमा अघि आएको छ।

राजदूत फेनले नेपालसँगको नयाँ साझेदारी दुवै देशका नागरिकलाई लाभ पुग्ने गरी अगाडि बढाउने बेलायतको उद्देश्य रहेको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button