विदेशी कूटनीतिज्ञसँग छुट्टाछुट्टै संवादमा फर्किँदै प्रधानमन्त्री शाह
भारत र चीनका राजदूतसँग एकै दिन भेट, मंगलबार अमेरिकी कार्यवाहक राजदूतसँग वार्ता

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौंस्थित विदेशी कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेट नगर्ने पूर्वअडान परिमार्जन गर्दै सोमबारदेखि प्रमुख कूटनीतिक प्रतिनिधिसँग व्यक्तिगत भेटवार्ता शुरु गर्ने भएका छन्।
प्रधानमन्त्री शाहले सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भएको छ। त्यसको भोलिपल्ट मंगलबार उनले अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमसँग भेटवार्ता गर्नेछन्।
दुवै छिमेकी मुलुकका राजदूतलाई एकै दिन भेट्ने निर्णयलाई सरकारले भारत र चीन दुवैसँगको सम्बन्धलाई समान महत्त्वका साथ अघि बढाउन खोजेको कूटनीतिक संकेतका रूपमा हेरिएको छ। भेटको समय भने अलग अलग निर्धारण गरिएको छ।
प्रधानमन्त्री बनेयता शाहले काठमाडौंस्थित विदेशी राजदूतहरूसँग व्यक्तिगत रूपमा गर्न लागेको यो पहिलो औपचारिक शिष्टाचार भेट हो। भेटवार्ता मुख्यतः परिचयात्मक हुने र त्यसक्रममा द्विपक्षीय सम्बन्ध, आपसी चासो तथा सम्बन्धित सरकारका सन्देश आदानप्रदान हुने अपेक्षा गरिएको छ।
परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावासलाई भेटवार्ताको समयबारे जानकारी गराइसकेको छ। बैठकमा परराष्ट्र मन्त्रालय, सम्बन्धित महाशाखा तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अधिकारी सहभागी हुने अपेक्षा गरिएको भए पनि अन्तिम सहभागिता सूची तय भइसकेको छैन।
प्रधानमन्त्री शाहले यसअघि विदेशी राजदूत तथा नेपाल भ्रमणमा आउने वरिष्ठ विदेशी अधिकारीसँग छुट्टाछुट्टै भेट नगर्ने नीति लिएका थिए। उनले काठमाडौंस्थित विदेशी नियोगका प्रमुखहरूसँग संयुक्त रूपमा संवाद गर्ने अभ्यासलाई प्राथमिकता दिएका थिए। प्रधानमन्त्रीले चैत २५ र जेठ १२ मा विदेशी नियोग प्रमुखसँग सामूहिक बैठक गरेका थिए।
त्यस्तो अभ्यासलाई पारदर्शी कूटनीति तथा सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्ने प्रयासका रूपमा सकारात्मक रूपमा हेरिएको थियो। यद्यपि कूटनीतिक मामिलाका जानकारहरूले राज्य सञ्चालनका क्रममा द्विपक्षीय विषय, संवेदनशील सन्देश तथा विशिष्ट एजेन्डाका कारण छुट्टाछुट्टै भेटवार्ता पनि आवश्यक पर्ने बताएका थिए।
शाहले प्रारम्भिक चरणमा नेपाल भ्रमणमा आउने केही अमेरिकी वरिष्ठ अधिकारीसँग प्रस्तावित व्यक्तिगत भेटसमेत स्वीकार गरेका थिएनन्। दक्षिण तथा मध्य एसियाली मामिलासँग सम्बन्धित अमेरिकी अधिकारी तथा नेपाल भ्रमणमा आएका अन्य वरिष्ठ अमेरिकी प्रतिनिधिसँग भेटका लागि भएका अनुरोध पनि त्यसबेला अघि बढेका थिएनन्।
यसबीच प्रधानमन्त्रीले एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भने भेट गरेका थिए। उक्त भेट बहुपक्षीय विकास संस्थाको नेतृत्वसँग भएको संवाद भएकाले राजदूतसँगको नियमित द्विपक्षीय कूटनीतिक भेटभन्दा फरक प्रकृतिको थियो।
सरकारले एक सय दिन पूरा गरेपछि प्रधानमन्त्रीलाई विभिन्न क्षेत्रसँग संवाद विस्तार गर्न सल्लाह दिइएको थियो। त्यसपछि उनले उद्योगी, व्यवसायी, राजनीतिक प्रतिनिधि तथा अन्य सरोकारवालासँग भेटघाट बढाएका छन्। काठमाडौंस्थित राजदूतहरूसँगको छुट्टाछुट्टै संवाद पनि यही विस्तारित सम्पर्कको अर्को चरणका रूपमा आएको हो।
राजदूतहरूसँगको भेट केही समयअघि नै गर्ने तयारी भए पनि सुनसरीसहित तराईका केही जिल्लामा उत्पन्न तनाव र हिंसात्मक घटनाका कारण कार्यक्रम पछि सारिएको थियो। प्रधानमन्त्री शाहले त्यस अवधिमा मधेशकेन्द्रित राजनीतिक दल, सांसद तथा अन्य सरोकारवालासँग पनि छलफल गरेका थिए।
भारत र चीनका राजदूतसँग एकै दिन भेट गर्दै छुट्टाछुट्टै कूटनीतिक संवाद पुनः शुरु गर्ने निर्णयले प्रधानमन्त्री शाहको प्रारम्भिक कूटनीतिक कार्यशैलीमा व्यावहारिक परिवर्तन आएको संकेत गर्छ। सामूहिक संवादको पारदर्शिता कायम राख्दै आवश्यक विषयमा द्विपक्षीय भेटसमेत गर्ने अभ्यास स्थापित हुन सके यसले नेपालको कूटनीतिक सम्पर्कलाई थप संस्थागत र प्रभावकारी बनाउन सहयोग पुर्याउन सक्छ।





