पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, विभिन्न स्थानबाट २० जना नियन्त्रणमा

ड्रागन मिडिया सम्वाददाता
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गर्दै आएको ‘स्वीप अप्रेसन’ अन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट गए राति २० जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक र लेकसाइड क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये केहीमाथि मादक पदार्थ सेवन गरी होहल्ला गरेको, गाँजा तथा अन्य लागुऔषध सेवन गरी अवाञ्छित गतिविधिमा संलग्न भएको तथा सर्वसाधारण र पर्यटकलाई हैरानी दिएको आरोप छ। उनीहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार सामान्य अवस्थामा मदिरा वा गाँजाजन्य पदार्थ सेवन गरेको पाइएकालाई सम्झाइबुझाइ गरी अभिभावकको जिम्मा लगाउने गरिएको छ।
तर आपराधिक पृष्ठभूमि भएका, पटकपटक यस्ता गतिविधिमा संलग्न हुने तथा प्रहरी जाँचका क्रममा दुर्व्यवहार गर्ने व्यक्तिविरुद्ध आवश्यक प्रमाणका आधारमा मुद्दा दर्ता गरी कानुनी कारवाही अगाडि बढाइने उनले बताए।
समाजमा हुने अवैध गतिविधि, गुण्डागर्दी तथा शान्ति सुरक्षामा खलल पुर्याउने क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले कास्की प्रहरीले केही महिनादेखि ‘स्वीप अप्रेसन’ सञ्चालन गर्दै आएको जनाएको छ।
प्रहरीले विशेषगरी रातिको समयमा भीडभाड हुने तथा पर्यटकको चहलपहल बढी रहने क्षेत्रमा निगरानी र सुरक्षा कारवाहीलाई निरन्तरता दिने जनाएको छ।





