झापामा मानव हात्ती द्वन्द्व : एक वर्षमा करिब दुई करोड रुपैयाँ राहत वितरण

ड्रागन मिडिया सम्वाददाता
झापामा मानव र हात्तीबीचको द्वन्द्वका कारण आर्थिक वर्ष २०८२/८३ मा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। डिभिजन वन कार्यालय झापाले हात्तीबाट प्रभावित परिवार तथा पीडितलाई कुल एक करोड ९९ लाख ९० हजार ६८६ रुपैयाँ राहत तथा क्षतिपूर्ति वितरण गरेको जनाएको छ।
कार्यालयका अनुसार एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट छ जनाको मृत्यु भएको छ भने १७ जना सख्त घाइते भएका छन्। मृत्यु भएका व्यक्तिका परिवारलाई जनही १० लाख रुपैयाँका दरले कुल ६० लाख रुपैयाँ राहत उपलब्ध गराइएको छ।
सख्त घाइते भएका १७ जनालाई कुल २६ लाख ६० हजार ८६२ रुपैयाँ राहत वितरण गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी गोइवार यादवले जानकारी दिए।
मानवीय क्षतिसँगै पशुधन, घरगोठ, भण्डारण गरिएको अन्न तथा खेतीबालीमा पनि उल्लेख्य क्षति पुगेको कार्यालयले जनाएको छ।
हात्तीबाट १५ वटा पशुधनमा क्षति पुगेबापत एक लाख ५० हजार रुपैयाँ राहत दिइएको छ। त्यसैगरी १९१ घटनामा भण्डारण गरिएको अन्न नष्ट भएबापत १५ लाख २० हजार २६४ रुपैयाँ र २६८ घरगोठमा पुगेको क्षतिबापत ४२ लाख ५४ हजार ५६० रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ।
अन्नबालीमा भएको क्षतिबापत थप ५४ लाख पाँच हजार रुपैयाँ उपलब्ध गराइएको कार्यालयले जनाएको छ।
यी सबै शीर्षकमा वितरण गरिएको राहत तथा क्षतिपूर्तिको कुल रकम एक करोड ९९ लाख ९० हजार ६८६ रुपैयाँ पुगेको हो।
झापामा हात्तीको आक्रमणबाट हुने मानवीय क्षतिसँगै घरगोठ, खाद्यान्न, पशुधन र खेतीबालीमा निरन्तर क्षति पुगिरहेको तथ्यले मानव हात्ती द्वन्द्व जिल्लाको महत्वपूर्ण वन्यजन्तु व्यवस्थापन तथा मानव सुरक्षासम्बन्धी चुनौतीका रूपमा कायम रहेको देखाएको छ।





