१७ भाद्र २०८३, बुधबार

हतुवागढीमा ५० प्रतिशत अनुदानमा उन्नत भैँसी वितरण, दुग्ध उत्पादन बढाउने लक्ष्य

ड्रागन मिडिया सम्वाददाता

भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि र किसानको आयआर्जन सुदृढ गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत जातका भैँसी वितरण गरेको छ।

कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्यसहित गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सात लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममार्फत १० किसान तथा कृषि फार्मलाई लाभान्वित गराउने लक्ष्य राखिएको थियो। तर प्रक्रियागत ढिलाइ र एक किसानले आवश्यक तयारी समयमै पूरा गर्न नसकेपछि नौ किसानले भैँसी प्राप्त गरेका छन्।

गाउँपालिकाका अनुसार प्रकाश बस्नेत, अञ्जु कुँवर कार्की, पमरम्फा मगर, दुर्जमान राई, हीराकुमारी खड्का थापा, मच्छिन्द्र राई, दिलीप राई, अनिशा तामाङ र रामलाल राई कार्यक्रमबाट लाभान्वित भएका छन्।

स्थानीय अनिशा तामाङले गाउँपालिकाबाट प्राप्त अनुदानले पशुपालन व्यवसाय विस्तार गर्न सहयोग पुगेको बताइन्। परम्परागत रूपमा पशुपालन गर्दै आएकोमा उन्नत जातको भैँसी प्राप्त भएपछि दूध उत्पादन बढ्ने अपेक्षा गरिएको उनले बताइन्।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले पशुपालनलाई आयमुखी पेसाका रूपमा विकास गर्न किसान लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए। स्थानीयस्तरमै दूध उत्पादन बढाउँदै किसानलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।

अध्यक्ष राईका अनुसार गाउँपालिकाले अनुदानसँगै पशुपालन प्रविधि, गोठ सुधार तथा आवश्यक संरचनागत विकासलाई पनि जोड दिएको छ। यसबाट दुग्ध उत्पादन बढ्नुका साथै स्थानीय रोजगारी सिर्जनामा सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ।

प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले पशुपालन क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन गाउँपालिकाले चरणबद्ध रूपमा सहयोग गर्दै आएको बताए।

उनका अनुसार उन्नत जातका पशु वितरणसँगै परम्परागत गोठ सुधार, व्यवस्थित पशुपालन र आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान दिइएको छ।

गाउँपालिकाले आगामी चरणमा दुग्ध सङ्कलन प्रणाली विस्तार, बजार व्यवस्थापन तथा पशु स्वास्थ्य सेवा सुदृढीकरणलाई प्राथमिकता दिने योजना बनाएको जनाएको छ।

उन्नत पशु वितरणलाई उत्पादन, सङ्कलन, पशु स्वास्थ्य र बजारसँग जोड्न सके कार्यक्रमले स्थानीय दुग्ध अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सुदृढ गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button