१९ भाद्र २०८३, शुक्रबार

एलपी ग्यास आयात बढ्यो, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी

ड्रागन मिडिया सम्वाददाता

काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा केही दिनदेखि देखिएको खाना पकाउने एलपी ग्यासको अभाव कम गर्न आयात र वितरण बढाइएको नेपाल आयल निगमले जनाएको छ। निगमले बढीमा एक साताभित्र बजारमा ग्यासको बिक्री वितरण पूर्ण रूपमा सहज हुने दाबी गरेको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट अहिले दैनिक एक सयभन्दा बढी ग्यास बुलेट लोड भइरहेका छन्। आयातको परिमाण बढेसँगै बजारमा आपूर्ति क्रमशः सुधार हुँदै गएको निगमको भनाइ छ।

निगमका एलपी ग्यास विभाग निर्देशक विनितमणि उपाध्यायले उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित नगर्न आग्रह गर्दै बजारको अवस्था क्रमशः सामान्य बन्दै गएको बताए।

निगमले गत असार ३१ गतेदेखि पुनः १४.२ किलोग्रामको पूर्ण सिलिन्डर बिक्री खुला गरेको थियो। त्यसअघि पश्चिम एसियामा उत्पन्न द्वन्द्व र सम्भावित आपूर्ति जोखिमलाई ध्यानमा राख्दै गत फागुन २९ गतेदेखि ७.१ किलोग्रामको आधा सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था गरिएको थियो।

पूर्ण सिलिन्डरको बिक्री पुनः शुरु भएपछि एकैपटक माग बढ्दा बजारमा आपूर्तिमाथि दबाब परेको निगमको भनाइ छ।

एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार उपभोक्ताले आधा सिलिन्डरलाई अपेक्षाअनुसार स्वीकार नगरेको र पूर्ण सिलिन्डर उपलब्ध हुने प्रतीक्षामा खरिद रोकेका कारण पूर्ण सिलिन्डर बिक्री खुलेपछि माग अचानक बढेको हो।

आयात तथ्याङ्कले पनि चालु महिनामा ग्यास आपूर्ति बढाइएको देखाएको छ। निगमका अनुसार गत आर्थिक वर्षको साउनमा ४४ हजार ३१८ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। चालु आर्थिक वर्षको साउनमा भने करिब ५५ हजार मेट्रिक टन आयात हुने अनुमान गरिएको छ।

साउनको २२ दिनमै ३९ हजार ७७४ मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको निगमले जनाएको छ।

आगामी ठूला चाडपर्वमा माग थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सरकारले तीन महिनाका लागि ग्यास आयातको कोटा बढाउन भारतसँग कूटनीतिक पहल गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले जानकारी दिएकी छन्।

नेपालमा हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको छ।

बजारमा देखिएको अभाव र वितरण अवस्थाको अनुगमनका लागि उद्योगमन्त्री यादवसहित नेपाल आयल निगमका अधिकारीले विभिन्न ग्यास उद्योग तथा बिक्री केन्द्रको निरीक्षणसमेत गरेका छन्।

शनिबार मन्त्रीसहितको टोलीले बालाजुस्थित नेपाल ग्यास उद्योग र टेकु क्षेत्रका विभिन्न ग्यास बिक्री केन्द्रको अनुगमन गरेको थियो। निगमले अनुगमनका क्रममा कृत्रिम अभाव वा कालोबजारीको प्रमाण नभेटिएको जनाएको छ।

ग्यास नपाएका उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न निगमले गठन गरेको द्रुत प्रतिक्रिया टोलीले हालसम्म पाँच सयभन्दा बढी गुनासो सम्बोधन गरिसकेको जनाएको छ।

आयात बढाइएको भए पनि पूर्ण सिलिन्डरको माग एकैपटक बढेका कारण वितरण प्रणालीमा परेको दबाब तत्काल पूर्ण रूपमा हटिसकेको छैन। निगमले आगामी एक साताभित्र आपूर्ति र वितरण सामान्य अवस्थामा फर्किने अपेक्षा गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button