१९ भाद्र २०८३, शुक्रबार

विश्व आदिवासी दिवस आज, अधिकार, पहिचान र सांस्कृतिक संरक्षणमा जोड

ड्रागन मिडिया सम्वाददाता

विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति, भाषा र परम्परागत जीवनपद्धतिको संरक्षणप्रति विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्व आदिवासी दिवस मनाइँदैछ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ डिसेम्बर २३ मा हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् १९८२ अगस्ट ९ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक बसेको ऐतिहासिक सन्दर्भलाई आधार बनाएर यही दिन चयन गरिएको हो।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका करिब ९० देशमा ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसङ्ख्याको छ प्रतिशतभन्दा कम हिस्सा भए पनि विश्वका अत्यन्त गरिब समुदायमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका छन्।

विश्वमा बोलिने अनुमानित सात हजार भाषामध्ये ठूलो संख्यामा भाषा आदिवासी समुदायसँग सम्बन्धित छन्। उनीहरूले करिब पाँच हजार पृथक संस्कृतिको प्रतिनिधित्व गर्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

आदिवासी समुदायले पुस्तौँदेखि आफ्ना विशिष्ट संस्कृति, सामाजिक परम्परा, भाषिक पहिचान, प्राकृतिक स्रोतसँगको सम्बन्ध र मानिस तथा प्रकृतिबीचको सन्तुलनसम्बन्धी परम्परागत ज्ञान संरक्षण गर्दै आएका छन्।

उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक संरचना आफू बसोबास गर्ने बहुसङ्ख्यक समुदायभन्दा पृथक रहने गरेको छ। यही विशिष्टताका कारण आदिवासी जनजातिको अधिकारलाई सामान्य नागरिक अधिकारसँगै सांस्कृतिक र सामूहिक अधिकारको दृष्टिले पनि संरक्षण गर्नुपर्ने विषय अन्तर्राष्ट्रिय बहसको महत्वपूर्ण हिस्सा बनेको छ।

आदिवासी समुदायले लामो समयदेखि आफ्नो पहिचान, पुर्ख्यौली भूमि, क्षेत्र, प्राकृतिक स्रोत तथा परम्परागत जीवनपद्धतिमाथिको अधिकारको मान्यताका लागि संघर्ष गर्दै आएका छन्। इतिहासका विभिन्न चरणमा उनीहरूले अधिकार हनन, विस्थापन, विभेद र सामाजिक बहिष्करणको सामना गर्नुपरेको संयुक्त राष्ट्रसङ्घले उल्लेख गर्दै आएको छ।

आज पनि विश्वका विभिन्न क्षेत्रमा आदिवासी समुदाय भूमि तथा प्राकृतिक स्रोतको पहुँच, मातृभाषाको संरक्षण, शिक्षा, स्वास्थ्य, राजनीतिक प्रतिनिधित्व तथा विकाससम्बन्धी निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितासँग जोडिएका चुनौती सामना गरिरहेका छन्।

अन्तर्राष्ट्रिय समुदायले आदिवासी जनजातिको विशिष्ट संस्कृति, भाषा, परम्परागत ज्ञान र जीवनपद्धतिको निरन्तरताका लागि विशेष संरक्षण आवश्यक रहेको स्वीकार गर्दै आएको छ।

विश्व आदिवासी दिवसका अवसरमा उनीहरूको अधिकार सुनिश्चित गर्ने, संस्कृति र भाषाको संरक्षण गर्ने, परम्परागत ज्ञानको सम्मान गर्ने तथा प्राकृतिक स्रोतसँग जोडिएको ऐतिहासिक सम्बन्ध सुरक्षित राख्ने विषयमा विशेष जोड दिइन्छ।

साथै आदिवासी जनजातिसँग प्रत्यक्ष सम्बन्धित नीति, विकास योजना तथा स्रोत व्यवस्थापनसम्बन्धी निर्णयमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि दिवसले स्मरण गराउँछ।

विश्व आदिवासी दिवस आदिवासी समुदायले मानव सभ्यता, सांस्कृतिक विविधता, जैविक विविधताको संरक्षण र परम्परागत ज्ञान प्रणालीमा पुर्याएको योगदानको सम्मान गर्ने अवसरसमेत हो।

दिवसले सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई आदिवासी जनजातिको सम्मान, समानता, अधिकार र पहिचान सुनिश्चित गर्न दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको सन्देश दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button