लिटल फ्लावर प्राइड लिगको १०औँ संस्करण असोज १५ देखि धनगढीमा

ड्रागन मिडिया सम्वाददाता
लिटल फ्लावर प्राइड लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १०औँ संस्करण आगामी असोज १५ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ।
आयोजक लिटल फ्लावर स्पोर्टस् एन्ड इभेन्ट्सले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज २४ गतेसम्म फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने जानकारी दिएको हो।
प्रतियोगितामा कुल १२ टोली सहभागी हुनेछन्। विजेता टोलीले दुई लाख रुपैयाँ तथा उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
सन् २०७२ देखि निरन्तर आयोजना हुँदै आएको लिटल फ्लावर प्राइड लिगलाई आयोजकले ग्रासरुट क्रिकेट विकास र नयाँ खेलाडी उत्पादनमा केन्द्रित प्रतियोगिताका रूपमा अघि बढाउँदै आएको जनाएको छ।
राष्ट्रिय क्रिकेट टोलीका सदस्य शेर मल्लले प्रतियोगिताले सुदूरपश्चिममा क्रिकेटको आधार बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताए।
आफूले खेलेको पहिलो आधिकारिक प्रतियोगिता नै लिटल फ्लावर प्राइड लिग रहेको स्मरण गर्दै मल्लले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलिरहेका सुदूरपश्चिमका धेरै खेलाडीको प्रारम्भिक प्रतिस्पर्धात्मक आधार यही प्रतियोगिताबाट बनेको बताए।
उनले नयाँ खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण, खेल अनुभव र आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्न यस्ता प्रतियोगिताको निरन्तरता आवश्यक रहेको उल्लेख गरे।
लिटल फ्लावर स्पोर्टस् एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगितालाई निरन्तर विस्तार गर्दै सुदूरपश्चिमबाट थप उत्कृष्ट क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए।
उनका अनुसार प्रतियोगिताको १०औँ संस्करणलाई विगतका संस्करणभन्दा थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने तयारी भइरहेको छ।
लिटल फ्लावर प्राइड लिगले विद्यालय तथा स्थानीय तहबाट उदीयमान खेलाडीलाई प्रतिस्पर्धात्मक क्रिकेटसँग जोड्दै सुदूरपश्चिमको क्रिकेट विकासमा योगदान पुर्याउँदै आएको आयोजकको भनाइ छ।





