वर्षा र पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति सवारी सञ्चालन रोक

ड्रागन मिडिया सम्वाददाता
वर्षा, पहिरो, सडक भासिने तथा कटानका कारण देशका विभिन्न स्थानमा राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयले आइतबार बिहान ५ बजेर ४५ मिनेटसम्मको अवस्था सार्वजनिक गर्दै तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली मैलुङ स्याफ्रुबेंसी सडक र रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै खुर्कोट, नेपालथोक र कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
इलाम नगरपालिका ९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ जिरोकिलो, वडा नम्बर २ कोदारी तथा लिपिङ क्षेत्रमा पहिरो र सडक भासिएका कारण अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। जिरोकिलोमा पहिरो खसेको छ भने लिपिङ क्षेत्रमा सडक भासिएको प्रहरीले जनाएको छ।
त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका ९ डुम्रेमा पनि अरनिको राजमार्ग अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका ५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली मैलुङ स्याफ्रुबेंसी सडक पूर्ण रूपमा बन्द भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट डोल्पा सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
तेह्रथुमको लालीगुराँस नगरपालिका ९ काडेस्थित पिङवाखोला नजिक मध्यपहाडी लोकमार्गमा पनि पहिरो खसेपछि यातायात पूर्ण रूपमा रोकिएको छ।
प्रहरीले वर्षायाममा पहिरो, बाढी, कटान र सडक भासिने जोखिम कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।





