एलपी ग्यासमा कृत्रिम अभावको गुनासोपछि उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

ड्रागन मिडिया सम्वाददाता
खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री तथा कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले काठमाडौँ उपत्यकाका ग्यास डिपो र बिक्री केन्द्रमा सादा पोसाकका प्रहरी परिचालन गरेको छ।
गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा आइतबार बिहानदेखि ग्यासको भण्डारण, बिक्री वितरण र मूल्यसम्बन्धी गतिविधिमाथि निगरानी शुरु गरिएको हो।
सरकारी निकायका अनुसार भारतबाट एलपी ग्यासको आयात नियमित रहे पनि बजारका केही स्थानमा ग्यास उपलब्ध नभएको देखाउने, सिलिन्डर लुकाउने तथा तोकिएको मूल्यभन्दा बढी रकम लिने गरेको गुनासो उद्योग मन्त्रालयमा पुगेको थियो।
त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवको आग्रहमा गृहमन्त्री सुदन गुरुङले सम्भावित कृत्रिम अभाव र कालोबजारीमाथि निगरानी बढाउन सादा पोसाकका प्रहरी परिचालन गर्न निर्देशन दिएका हुन्।
प्रहरीले ग्यास लुकाउने, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने तथा कालोबजारीमा संलग्न भएको प्रमाण भेटिए प्रचलित कानुनअनुसार कारवाही अगाडि बढाइने जनाएको छ।
सरकारले तत्कालका लागि काठमाडौँ उपत्यकाका ग्यास डिपो तथा बिक्री केन्द्रलाई प्राथमिकतामा राखेको छ। आवश्यकताअनुसार अनुगमन र निगरानीलाई अन्य जिल्लाका ग्यास बिक्री केन्द्रसम्म विस्तार गरिने गृह मन्त्रालयले जनाएको छ।
पछिल्ला दिनमा उपत्यकासहित देशका विभिन्न क्षेत्रमा एलपी ग्यासको अभाव देखिएको गुनासो बढेपछि सरकारले आयात र वितरणको अवस्थासँगै बजार तहमा भइरहेको बिक्री प्रक्रियामाथि समेत निगरानी कडा बनाएको हो।





