१९ भाद्र २०८३, शुक्रबार

सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढेकोमा प्रदीप पौडेलले सरकारलाई दिए धन्यवाद

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढेको, औषधि उत्पादन विस्तार भइरहेको र सरकारले ३५ प्रकारका निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको भन्दै प्रधानमन्त्री तथा सरकारको प्रयासप्रति आभार व्यक्त गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले आफू स्वास्थ्य मन्त्री हुँदा अघि सारिएका नीति, कार्यक्रम र रणनीतिक योजनाको निरन्तरताले वैद्यखाना तथा समग्र आयुर्वेद क्षेत्रले गति लिन थालेको दाबी गरेका हुन्।

उनका अनुसार ३७० वर्ष पुरानो सिंहदरबार वैद्यखाना केही समयअघि करिब २० प्रकारका औषधि उत्पादनमा सीमित भएको अवस्थामा त्यसलाई पुनर्जीवन दिन पाँच वर्षे रणनीतिक योजना तयार गरिएको थियो। उक्त योजनाले उत्पादन विस्तार, बजार हिस्सा वृद्धि, गुणस्तरीय उत्पादनका लागि जीएमपी मापदण्ड र स्वदेशी औषधि उत्पादनलाई प्राथमिकता दिएको उनले उल्लेख गरेका छन्।

पौडेलले वैद्यखानाले हाल उत्पादन गर्ने औषधिको संख्या १०५ बाट १५० पुर्याउने तयारी र ३५ प्रकारका निःशुल्क औषधि स्वदेशमै उत्पादन गर्ने लक्ष्यलाई सकारात्मक उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।

उनले आफ्नो कार्यकालमा सर्ने रोगको भार कम गर्ने दीर्घकालीन उद्देश्यसहित १० वर्षे राष्ट्रिय आयुर्वेद रणनीति अघि बढाइएको र सिंहदरबार वैद्यखानालाई पुनर्जीवन दिन पाँच वर्षे प्राथमिकताप्राप्त रणनीतिक योजना लागू गरिएको स्मरण गरेका छन्।

पौडेलका अनुसार बुढानीलकण्ठमा पञ्चकर्म तथा योग केन्द्र सञ्चालनको तयारी, आवश्यक दरबन्दी स्वीकृति तथा सुदूरपश्चिमबाट स्वर्ण बिन्दु प्राशन अभियान शुरु गर्ने आधारसमेत सोही अवधिमा तयार गरिएको थियो।

उनले आयुर्वेद सेवा नपुगेका १४४ स्थानीय तहसहित देशभर नागरिक आरोग्य कार्यक्रम विस्तार गर्ने योजना अघि बढाइएको र त्यसका लागि बजेट दोब्बर गर्दै एक अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको बताएका छन्। पाँच, १० र १५ शय्याका स्वास्थ्य संस्थामा योग तथा प्राकृतिक चिकित्सा सेवा सञ्चालन गर्ने कार्यविधि पनि तयार गरिएको उनको भनाइ छ।

औषधि उत्पादन र निर्यात प्रवर्द्धनतर्फ जीएमपीसम्बन्धी नीति अघि बढाइएको, चार स्वदेशी कम्पनीलाई मान्यता दिइएको तथा औषधि वितरण प्रणालीमा फर्मासिस्टको भूमिका विस्तार गरिएको पौडेलले उल्लेख गरेका छन्। सोवा रिग्पा अध्ययन गरेका विद्यार्थीलाई लाइसेन्स परीक्षामा सहभागी गराउने व्यवस्था पनि अघि बढाइएको उनले बताएका छन्।

पौडेलले आयुर्वेदिक औषधि अनुसन्धान तथा विकासका लागि औषधि अनुसन्धान तथा विकास इकाइ, वनस्पति प्राधिकरण र आयुर्वेद अध्ययन प्रतिष्ठान स्थापना प्रक्रिया शुरु गरिएको जानकारी दिएका छन्। आयुर्वेद औषधि नियमावली २०८१ सहित आवश्यक कानुनी संरचना निर्माण र सरकारबाट उपलब्ध गराइने ३५ प्रकारका निःशुल्क औषधि सिंहदरबार वैद्यखानाबाटै खरिद गर्ने नीति पनि अघि सारिएको उनको भनाइ छ।

नरदेवीस्थित आयुर्वेदिक अस्पताललाई एक सय शय्यामा विस्तार गर्न स्रोत सुनिश्चित गरिएको, नेपाली सेनाको अस्पतालसँग आयुर्वेद सेवा जोड्ने पहल गरिएको तथा १६औँ पञ्चवर्षीय योजनामा आयुर्वेद क्षेत्रलाई समावेश गरिएको पनि उनले उल्लेख गरेका छन्।

अन्तर्राष्ट्रिय तहमा छिमेकी मुलुकसँग समझदारी विस्तार, विश्व स्वास्थ्य संगठन र बिमस्टेकका मञ्चमा नेपालको आयुर्वेद अभ्यास प्रस्तुत तथा आयुर्वेदिक सेवा र औषधिलाई स्वास्थ्य बीमामा समेट्ने उद्देश्यले नर्वेसँगको सहकार्यमा लागत अध्ययन शुरु गरिएको पौडेलले बताएका छन्।

उनले वर्तमान सरकारलाई वैद्यखानाको पाँच वर्षे रणनीतिक योजना निरन्तर रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्। प्रस्तावित जडीबुटी प्रशोधन केन्द्रलाई औषधि अनुसन्धान तथा विकास इकाइसँग जोडेर अनुसन्धानमा राज्यको लगानी बढाउनुपर्ने उनको सुझाव छ।

त्यसैगरी ३५ प्रकारका निःशुल्क आयुर्वेदिक औषधिलाई नयाँ थपिएका १४४ स्थानीय तहसहित देशभरका नागरिक आरोग्य केन्द्रमार्फत सर्वसाधारणसम्म पुर्याउनुपर्ने, जीएमपी मापदण्ड हासिल भएपछि नेपाली आयुर्वेदिक औषधिको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि कूटनीतिक पहल गर्नुपर्ने र औषधिका कच्चा पदार्थको व्यवस्थित खरिदसँगै जडीबुटी खेतीलाई विशेष प्रोत्साहन गर्नुपर्ने उनले बताएका छन्।

आर्थिक रूपमा विपन्न नागरिकको पहुँच सुनिश्चित गर्न आयुर्वेदका विशिष्टीकृत सेवा तथा औषधिलाई राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीमा समावेश गर्नुपर्ने सुझाव पनि पौडेलले दिएका छन्।

असल नीतिको निरन्तरता नै संस्थागत सुधारको आधार भएको उल्लेख गर्दै पौडेलले अघिल्लो सरकारले शुरु गरेका सकारात्मक कार्यक्रमलाई वर्तमान सरकारले निरन्तरता दिएकोमा खुसी व्यक्त गरेका छन्। उनले सरकारका सकारात्मक कदममा सहयोग रहने प्रतिबद्धता पनि जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button