पोखरामा बीवाईडीको आधिकारिक ३एस सुविधा सञ्चालनमा

ड्रागन मिडिया सम्वाददाता
पोखरा महानगरपालिका १० बुद्धचोकमा बीवाईडीको आधिकारिक सेवा केन्द्र सञ्चालनमा आएको छ। नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत उक्त केन्द्र सञ्चालनमा ल्याएको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सेवा केन्द्रको उद्घाटन गरेका हुन्। यससँगै पोखरामा बीवाईडीको बिक्री, सेवा तथा जगेडा पार्टपुर्जा समेटिएको ३एस सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
नयाँ सेवा केन्द्र सञ्चालनमा आएपछि गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकले कम्पनीको आधिकारिक सेवा सञ्जालबाट बिक्रीपछिको सेवा लिन सक्नेछन्। यसअघि पोखराका ग्राहकले बीवाईडीबाट तालिमप्राप्त तेस्रो पक्षका सेवा साझेदारमार्फत बिक्रीपछिको सेवा प्राप्त गर्दै आएका थिए।
कम्पनीका अनुसार नयाँ केन्द्रमा आधुनिक प्राविधिक सेवा, आधिकारिक जगेडा पार्टपुर्जा, विशेष उपकरण तथा बीवाईडीबाट तालिमप्राप्त प्राविधिकको सेवा उपलब्ध हुनेछ।
नयाँ सेवा केन्द्र बुद्धचोकस्थित बीवाईडीको प्रदर्शनी केन्द्रसँगै स्थापना गरिएको छ। कम्पनीले नेपालभर बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्ने क्रममा पोखराको केन्द्रलाई गण्डकी प्रदेशमा आफ्नो सेवा पहुँच विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।
साइमेक्स इंकका सेवा विभाग प्रमुख सुशील तण्डुकारले सवारी बिक्रीसँगै ग्राहकसँग दीर्घकालीन सेवा सम्बन्ध कायम राख्नु कम्पनीको प्राथमिकता रहेको बताए। उनले नयाँ केन्द्रमार्फत गण्डकी प्रदेशका बीवाईडी ग्राहकलाई स्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
पोखरामा आधिकारिक ३एस सुविधा सञ्चालनमा आएसँगै पश्चिम नेपालमा बीवाईडीको बिक्री तथा बिक्रीपछिको सेवा संरचना थप विस्तार भएको छ।





