कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत फेला

ड्रागन मिडिया सम्वाददाता
गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो।
सिंह सम्पर्कविहीन भएपछि प्रहरीले उनको खोजी अभियान सञ्चालन गरेको थियो। खोजीकै क्रममा जंगल क्षेत्रमा शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरेको छ। मृत्युको कारण र घटनासँग सम्बन्धित अन्य परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





