१९ भाद्र २०८३, शुक्रबार

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

ड्रागन मिडिया सम्वाददाता

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयन प्रक्रियासँग प्रत्यक्ष जोड्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको पार्टीले जनाएको छ।

रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई महिनामा कम्तीमा एकपटक केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भएर नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ।

पार्टीका सह महामन्त्री तथा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहका अनुसार कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणअन्तर्गत साँझ ५ बजेदेखि ६ बजेसम्म मन्त्रीहरूले आमनागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन्। त्यस क्रममा नागरिकले आफ्ना समस्या, गुनासा, अपेक्षा र सुझाव सम्बन्धित मन्त्रीसमक्ष राख्न सक्नेछन्।

त्यसपछि साँझ ६ बजेबाट ‘नेतृत्व संवाद’ सञ्चालन हुनेछ। यस चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबीच संयुक्त छलफल हुनेछ। नागरिक संवादबाट प्राप्त सुझावसँगै समसामयिक तथा नीतिगत विषयमा बैठक केन्द्रित हुने रास्वपाले जनाएको छ।

कार्यक्रममार्फत नागरिक, सरकार, संसद र पार्टी संगठनबीच समन्वय सुदृढ गर्ने लक्ष्य राखिएको छ। नागरिकका मुद्दालाई प्रभावकारी रूपमा सम्बोधन गर्न साझा रणनीति बनाउने, मन्त्रीहरूलाई नागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउने र जनस्तरका वास्तविक समस्या तथा अपेक्षाका आधारमा नीति तथा कानुनसम्बन्धी पार्टीको धारणा विकास गर्ने उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी पार्टीको सांगठनिक तह, संसदीय दल र सरकारमा रहेका प्रतिनिधिबीच सूचना तथा कार्ययोजनाको नियमित आदानप्रदानलाई प्रभावकारी बनाउने लक्ष्य पनि कार्यक्रमले लिएको छ।

सह महामन्त्री शाहले निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु लोकतन्त्रको मूल मर्म भएको उल्लेख गर्दै जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्न कार्यक्रम अघि बढाइएको बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button