१७ भाद्र २०८३, बुधबार

तनहुँमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दो, एक वर्षमा ९५२ मुद्दा दर्ता

ड्रागन मिडिया सम्वाददाता

तनहुँमा सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार भएसँगै सम्बन्ध विच्छेदका मुद्दाको संख्या उल्लेख्य देखिएको छ।

तनहुँ जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यका अनुसार विशेषगरी महिलामा शिक्षा, रोजगारी र आर्थिक आत्मनिर्भरता बढ्दै जाँदा आफ्नो अधिकार संरक्षणका लागि कानुनी बाटो रोज्ने प्रवृत्ति पनि बढेको छ।

उनले सामाजिक चेतनाको विस्तार, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रताप्रतिको बढ्दो बुझाइलाई सम्बन्ध विच्छेदका मुद्दा बढ्नुका प्रमुख सामाजिक कारणमध्ये राखेका छन्।

गत आर्थिक वर्षमा तनहुँ जिल्ला अदालतमा कुल दुई हजार ४५६ मुद्दा दर्ता भएकामा सम्बन्ध विच्छेदसँग सम्बन्धित मुद्दा मात्रै ९५२ रहेका छन्। तीमध्ये अदालतले ८१० मुद्दा निरूपण गरेको छ।

यसैगरी आर्थिक वर्ष २०८२/८३ मा अंशसम्बन्धी २८७ मुद्दा दर्ता भएका थिए। तीमध्ये १७९ मुद्दा किनारा लगाइएको अदालतले जनाएको छ।

अदालतको तथ्याङ्कले पारिवारिक विवादसँग सम्बन्धित मुद्दाको हिस्सा उल्लेख्य रहेको देखाएको छ। सामाजिक तथा आर्थिक अवस्थामा आएको परिवर्तनसँगै वैवाहिक सम्बन्धमा उत्पन्न विवादलाई कानुनी प्रक्रियाबाट समाधान खोज्ने प्रवृत्ति पनि बढ्दै गएको अदालतको बुझाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button