नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, आठ एजेन्डामा छलफल

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। बैठकमा पार्टीको आगामी संगठनात्मक दिशा, १५औँ महाधिवेशनको तयारी, सरकारको कामको समीक्षा तथा प्रमुख प्रतिपक्षीय भूमिकासहित आठ एजेन्डामा छलफल हुने भएको छ।
बैठकमा १५औँ महाधिवेशनको तयारी, पार्टी नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरणसम्बन्धी विषय प्राथमिकतामा छन्। महाधिवेशन तयारी समिति गठनका विषयमा पनि केन्द्रीय सदस्यहरूबीच छलफल हुने बताइएको छ।
यसैगरी पछिल्लो समय तराई मधेसमा देखिएका घटनाक्रम, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा त्यसमा पार्टीको भूमिकाबारे पनि बैठकमा छलफल हुनेछ।
सरकारका एक सय दिनको कार्यसम्पादन, त्यसपछिका गतिविधि र संसद तथा राजनीतिक तहमा कांग्रेसले निर्वाह गर्नुपर्ने प्रमुख प्रतिपक्षीय भूमिकाको समीक्षा पनि बैठकको एजेन्डामा समावेश गरिएको छ।
प्रदेश सरकारसँग सम्बन्धित विषय, पार्टी सदस्यता व्यवस्थापन, जनसम्पर्क समितिको अवस्था तथा भ्रातृ संघहरूको विधानसम्बन्धी विषयमा पनि बैठकले छलफल गर्ने भएको छ।
बैठकले महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउने, पार्टी संगठनलाई सक्रिय बनाउने र समसामयिक राजनीतिक विषयमा कांग्रेसको धारणा तथा आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।





