सातौँ नेपाल अमेरिका ‘ल्याण्ड फोर्सेज टक्स’ का लागि उपरथी अनुपजंग थापा नेतृत्वको टोली होनोलुलु प्रस्थान

ड्रागन मिडिया सम्वाददाता
नेपाली सेना र अमेरिकी सेनाबीच हुने सातौँ ‘ल्याण्ड फोर्सेज टक्स’ अर्थात स्थलसेना वार्तामा सहभागी हुन नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी अनुपजंग थापाको नेतृत्वमा सात सदस्यीय उच्चस्तरीय सैनिक टोली अमेरिकाको हवाई राज्यस्थित होनोलुलुतर्फ प्रस्थान गरेको छ।
ड्रागन मिडियालाई प्राप्त जानकारीअनुसार टोली शनिबार राति काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिओल हुँदै होनोलुलुका लागि प्रस्थान गरेको हो। तीन दिनसम्म चल्ने सातौँ संस्करणको वार्ता साउन २६ देखि २८ गतेसम्म अर्थात सन् २०२६ अगस्ट ११ देखि १३ सम्म सञ्चालन हुनेछ।
‘ल्याण्ड फोर्सेज टक्स’ नेपाली सेना र अमेरिकी सेनाबीचको नियमित उच्चस्तरीय संस्थागत संवाद हो। यसको शुरुवात सन् २०१८ अर्थात विसं २०७५ मा भएको थियो। पहिलो संस्करणमा नेपाली पक्षबाट तत्कालीन रथी जगदीशचन्द्र पोखरेल र अमेरिकी पक्षबाट मेजर जनरल रोजर जे. नोबल सहभागी भएका थिए। त्यसयता वार्ता नेपाल र अमेरिकामा पालैपालो आयोजना हुँदै आएको छ।
यस संवादको मुख्य उद्देश्य दुई सेनाबीच व्यावसायिक अनुभव आदानप्रदान, सैन्य क्षमता विकास सम्बन्धी सहकार्य, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियान, मानवीय सहायता तथा विपद प्रतिकार्यलगायत साझा चासोका विषयमा छलफल गर्नु रहेको अघिल्ला संस्करणका आधिकारिक विवरणले देखाउँछन्। गत वर्ष काठमाडौंमा भएको छैटौँ संस्करणमा पनि विश्व शान्ति स्थापना, मानवीय सहायता र विपद प्रतिकार्यलाई प्रमुख विषय बनाइएको थियो।
हवाई नेपाली सेनाका लागि यस संवादको नयाँ स्थल भने होइन। सन् २०२२ मार्चमा भएको तेस्रो नेपाल अमेरिका ‘ल्याण्ड फोर्सेज टक्स’ पनि हवाईस्थित फोर्ट शाफ्टरमा आयोजना गरिएको थियो। त्यसबेला हालका प्रधानसेनापति अशोकराज सिग्देल मेजर जनरलको हैसियतमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वार्तामा सहभागी भएका थिए। अमेरिकी सेनाको आधिकारिक अभिलेख अनुसार उक्त वार्तामा दुई पक्षले आफ्ना प्राथमिकता समन्वय गर्ने र थप सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए।
त्यसपछि सन् २०२३ मा चौथो संस्करण काठमाडौंमा सम्पन्न भएको थियो। त्यस वार्तामा विपद प्रतिकार्य, राहत तथा पूर्वतयारी, नेपाली सेनाको शान्ति स्थापना अभियानमा अमेरिकी सहयोग लगायत विषयमा छलफल भएको थियो। त्यसबेलाका सहभागी अधिकारीले विवादित स्टेट पार्टनरसिप प्रोग्राम अर्थात एसपीपीको विषय वार्तामा नउठेको र कुनै नयाँ सहयोग संरचना प्रस्ताव नगरिएको बताएका थिए।
सन् २०२५ नोभेम्बरमा सैनिक मुख्यालय जंगीअड्डामा भएको छैटौँ संस्करणमा नेपाली पक्षको नेतृत्व रथी पवन घिमिरेले गरेका थिए भने अमेरिकी टोलीको नेतृत्व यूएस आर्मी प्यासिफिकका रणनीति तथा योजनातर्फका डेपुटी कमान्डिङ जनरल लेफ्टिनेन्ट जनरल स्कट ए. विन्टरले गरेका थिए। उक्त वार्तापछि दुवै पक्षले यस्ता अनुभव आदानप्रदान कार्यक्रमले दुई देशका सेनाबीचको पुरानो व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।
सातौँ संस्करणमा नेपाली टोलीको नेतृत्व गरिरहेका उपरथी अनुपजंग थापा हाल नेपाली सेनाको युद्धकार्य महानिर्देशक हुन्। सन् २०२६ मेमा नेपाली सेनाले सञ्चालन गरेको ‘अभ्यास हातेमालो’ को आठौँ संस्करण उद्घाटन गर्दा पनि उनी यही जिम्मेवारीमा रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयलाई उद्धृत गर्दै सार्वजनिक विवरणमा उल्लेख गरिएको छ।
थापा नेपाली सेनाको भावी नेतृत्वक्रमका दृष्टिले समेत महत्वपूर्ण अधिकारी हुन्। वर्तमान प्रधानसेनापति महारथी अशोकराज सिग्देलको नियमित सेवा अवधि विसं २०८४ भदौ २४ मा समाप्त हुने तालिका छ। हालको ज्येष्ठता, पदोन्नति र सेवा अवधि यथावत रहे थापा त्यसपछि प्रधानसेनापतिको नेतृत्वक्रममा अग्रस्थानमा रहने सैनिक नेतृत्व सम्बन्धी सार्वजनिक विवरणहरूले देखाएका छन्। यद्यपि प्रधानसेनापति नियुक्ति संवैधानिक तथा औपचारिक प्रक्रियाबाट हुने भएकाले यसलाई अहिले नै सम्पन्न नियुक्तिका रूपमा भने लिन मिल्दैन।
यस अर्थमा होनोलुलुमा हुने सातौँ ‘ल्याण्ड फोर्सेज टक्स’ केवल नियमित द्विपक्षीय सैनिक संवाद मात्र नभई नेपाली सेनाको वर्तमान युद्धकार्य नेतृत्व र सम्भावित भावी सैन्य नेतृत्व प्रत्यक्ष रूपमा सहभागी हुने उच्चस्तरीय सैन्य कूटनीतिक मञ्चका रूपमा पनि महत्वपूर्ण देखिएको छ।





