१९ भाद्र २०८३, शुक्रबार

भारतमा कानून अध्ययन गरेका नेपाली पूर्वविद्यार्थीको सञ्जाल विस्तार, कानूनी सहकार्य सुदृढ गर्ने पहल

ड्रागन मिडिया सम्वाददाता

काठमाडौँस्थित भारतीय दूतावासले भारतका कानून शिक्षण संस्थामा अध्ययन गरेका नेपाली पूर्वविद्यार्थीलाई एकै ठाउँमा भेला गरी नेपाल र भारतबीच कानूनी तथा शैक्षिक सहकार्य थप सुदृढ गर्ने पहल अघि बढाएको छ।

दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भए। उनी स्वयं भारतको कानून शिक्षण संस्थाका पूर्वविद्यार्थी हुन्। कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीशहरू, न्याय क्षेत्रका वरिष्ठ अधिकारी, पूर्वमहान्यायाधिवक्ता, कानून व्यवसायी, प्राज्ञिक क्षेत्रका प्रतिनिधि तथा नयाँ पुस्ताका कानूनी पेशाकर्मीको सहभागिता थियो।

कार्यक्रमको महत्वपूर्ण उपलब्धिका रूपमा भारतका कानून शिक्षण संस्थामा अध्ययन गरेका नेपाली पूर्वविद्यार्थीहरूको संस्था ‘एसोसिएसन अफ नेपाली अलुम्नाई अफ इन्डियन ल इन्स्टिच्युसन्स’ शुभारम्भ गरिएको छ। संस्थाले नेपाल र भारतका कानून क्षेत्र, शैक्षिक संस्था, अनुसन्धानकर्ता तथा कानूनी पेशाकर्मीबीच सम्पर्क र सहकार्य विस्तार गर्ने मञ्चका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

नेपालका लागि भारतीय राजदूतले पूर्वविद्यार्थी सञ्जालले दुई देशबीच विद्यमान सम्बन्धलाई थप गहिरो बनाउन दीर्घकालीन भूमिका खेल्न सक्ने बताए। उनले विशेष गरी कानून, शिक्षा र प्राज्ञिक आदानप्रदानका क्षेत्रमा संस्थागत सम्पर्क विस्तारको महत्व औँल्याए।

नयाँ संस्थामार्फत कानून शिक्षा, न्यायिक अध्ययन, अनुसन्धान, अनुभव आदानप्रदान तथा युवा कानूनी पेशाकर्मीबीच सम्पर्क विस्तार गर्ने सम्भावना देखिएको छ। यसले सरकारी तहको सम्बन्धबाहेक व्यावसायिक तथा प्राज्ञिक समुदायबीच पनि दीर्घकालीन संस्थागत सम्बन्ध निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भारतीय दूतावासका अनुसार यस्तो पूर्वविद्यार्थी सञ्जालले नेपाल र भारतबीच लामो समयदेखि कायम शैक्षिक तथा जनस्तरीय सम्बन्धलाई कानूनी क्षेत्रसम्म थप व्यवस्थित रूपमा विस्तार गर्दै द्विपक्षीय मित्रता सुदृढ गर्न योगदान पुर्‍याउनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button