१९ भाद्र २०८३, शुक्रबार

कांग्रेस एकताका लागि खड्काको विशेष अपिल, गगन थापालाई अग्रसर हुन आग्रह

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी सम्पूर्ण एकता कायम गर्न विशेष अपिल गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि दिएको निस्सालाई पार्टी एकताका लागि प्राप्त महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरेका छन्।

अदालतको आदेशपछि सामाजिक सञ्जालमा पार्टीका नेता तथा कार्यकर्ताबीच भइरहेका टीकाटिप्पणी, आरोप प्रत्यारोप र अस्वस्थ दोहोरीप्रति चिन्ता व्यक्त गर्दै उनले त्यस्तो प्रवृत्ति तत्काल बन्द गर्न आग्रह गरेका छन्।

खड्काले मुलुकको राष्ट्रियता, लोकतान्त्रिक संविधान र स्वयं नेपाली कांग्रेससमेत इतिहासकै कमजोर तथा प्रतिकूल अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा पार्टीभित्रको विभाजनलाई थप गहिरो बनाउनु उचित नहुने बताएका छन्।

उनले कांग्रेसका लागि अहिले सबैभन्दा ठूलो आवश्यकता सम्पूर्ण एकता भएको उल्लेख गर्दै व्यक्तिगत अस्वाभाविक महत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठा त्यागेर सामूहिक भावनाका साथ अघि बढ्न पार्टीका जिम्मेवार नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

विशेष रूपमा पार्टी सभापति गगनकुमार थापालाई सम्बोधन गर्दै खड्काले हिम्मत र साहसका साथ पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा उभिन आग्रह गरेका छन्। एकताको प्रयासमा पार्टीका अन्य सबै नेता तथा कार्यकर्ता सहयोगी बन्न तयार हुनुपर्ने उल्लेख गर्दै उनले निर्णायक पहल भने सभापतिबाटै हुनुपर्ने धारणा राखेका छन्।

“राष्ट्र रहे बहुदलीय लोकतन्त्र रहन्छ, लोकतन्त्र रहे पार्टी रहन्छ र मात्र हामी रहने ठाउँ रहन्छ, नभए सबै खरानी हुन्छ,” खड्काले भनेका छन्।

उनले वर्तमान परिस्थितिको गम्भीरतालाई आत्मसात गर्दै व्यक्तिगत आग्रहभन्दा माथि उठेर कांग्रेसभित्र विश्वास, संवाद र एकताको वातावरण निर्माण गर्न सबै पक्षलाई अपिल गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button