दुर्गा प्रसाईंलाई हर्क साम्पाङका चार प्रश्न

ड्रागन मिडिया सम्वाददाता
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले जय नेपाल पार्टीका सर्वोच्च नेता दुर्गा प्रसाईंलाई लक्षित गर्दै उनका पछिल्ला अभिव्यक्ति र गतिविधिसँग सम्बन्धित चारवटा प्रश्न उठाएका छन्।
साम्पाङले सोमबार सामाजिक सञ्जालमार्फत प्रसाईंले बारम्बार अशान्ति र कलह चाहेको जस्तो देखिनुको कारण के हो भन्दै प्रश्न गरेका हुन्। उनले प्रसाईंलाई लक्षित गर्दै ‘नेपाल चलाउन सकिएन, भारतलाई सुम्पिदिउँ’ भन्ने अभिव्यक्तिको कारणबारे पनि प्रश्न उठाएका छन्। साम्पाङको सामाजिक सञ्जाल पोस्टमा यही आशयको प्रश्न उल्लेख छ।
त्यसैगरी, प्रसाईंको पक्राउ र रिहाइको प्रक्रियालाई लिएर पनि साम्पाङले प्रश्न गरेका छन्। उनले ऋण लिएपछि तिर्नु नपर्ने भन्ने आशयका अभिव्यक्ति दिनुको कारणसमेत जान्न चाहेका छन्।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्गा प्रसाइँ जीले अशान्ति र कलह चाहिरहनुको कारण, नेपाल चलाउन सकिएन भारतलाई सुम्पिदिउँ भन्नुको कारण, बिहान पक्राऊ पर्ने अनि बेलुकी छुटिहाल्नुको कारण, ऋण लिएर तिर्नुहुँदैन भन्नुको कारण के रैछ?’
प्रसाईंलाई प्रहरीले यसअघि आन्दोलन घोषणा गरेको केही घण्टामै नियन्त्रणमा लिएको थियो। प्रहरीले शान्ति सुरक्षामा खलल पुग्न सक्ने गतिविधिको आशंकालाई पक्राउको कारणका रूपमा उल्लेख गरेको थियो।
साम्पाङको पछिल्लो टिप्पणीले प्रसाईंको राजनीतिक गतिविधि, अभिव्यक्ति, ऋणसम्बन्धी धारणा तथा पक्राउ र रिहाइको प्रक्रियालाई एकैपटक सार्वजनिक बहसमा ल्याएको छ।





