रोपाइँ सकिँदासमेत मल अभाव हुनु गम्भीर, सहज आपूर्ति सुनिश्चित गर्न दाहालको आग्रह

ड्रागन मिडिया सम्वाददाता
नेकपाका संयोजक तथा सांसद पुष्पकमल दाहालले रोपाइँ सकिँदासमेत मधेशलगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दाहालले सरकारले समयमै पर्याप्त रासायनिक मल आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा किसानले सहज रूपमा मल पाउन नसकेको बताए।
उनले उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको उल्लेख गरे।
नेपालमा रासायनिक मल आयातको प्रक्रिया जटिल रहेकाले समयमै पूर्वतयारी आवश्यक हुने दाहालको भनाइ छ। उनले आफ्नो नेतृत्वको तत्कालीन सरकारले यही गाम्भीर्यलाई ध्यानमा राखेर समयमै मल आयात तथा वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको दाबी गरे।
दाहालले भने, ‘हाम्रो सन्दर्भमा मल आयातको प्रक्रिया जटिल रहेकोले यसका लागि समयमा नै पूर्वतयारी आवश्यक हुन्छ। मेरो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको यही गाम्भीर्यता बुझेर समयमा नै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेटसमेत सुनिश्चित गरेको विदितै छ।’
उनले रासायनिक मलको वर्तमान अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त आपूर्ति सुनिश्चित गर्न आग्रह गरे।
दाहालले आगामी वर्षका लागि समेत समयमै तयारी गर्न तथा कालोबजारी र बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। उनले किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा रासायनिक मल उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए।





