प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेट, नेपाल–भारत सम्बन्ध र आपसी हितमा छलफल

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध तथा दुई देशका आपसी हितसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहले सरकारको नेतृत्व सम्हालेपछि भारतीय राजदूतसँग भएको यो पहिलो छुट्टै औपचारिक भेट हो। यसअघि उनले काठमाडौंस्थित विदेशी राजदूत तथा कूटनीतिक प्रतिनिधिसँग सामूहिक रूपमा संवाद गर्दै आएका थिए।

प्रधानमन्त्री शाहले सरकारको एक सय दिन पूरा भएपछि राजनीतिक, आर्थिक तथा कूटनीतिक क्षेत्रका सरोकारवालासँग छुट्टाछुट्टै संवादलाई विस्तार गर्न थालेका छन्। त्यसैक्रममा छिमेकी देश भारत र चीनका राजदूतसँग सोमबार अलगअलग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको थियो।
भारत नेपालका प्रमुख छिमेकी तथा विकास साझेदारमध्ये एक हो। दुई देशबीच व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, सीमापार सम्पर्क, पर्यटन, संस्कृति तथा जनस्तरमा व्यापक सम्बन्ध रहँदै आएको छ।
प्रधानमन्त्री शाह र राजदूत श्रीवास्तवबीचको सोमबारको भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको जनाइए पनि छलफलका विस्तृत विषयबारे प्रधानमन्त्रीको सचिवालयले थप जानकारी सार्वजनिक गरेको छैन।
प्रधानमन्त्री शाहले सोमबार नै नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग पनि छुट्टै भेट गर्ने कार्यक्रम रहेको छ।





